काठमाण्डु- साहस नेपालले काठमाण्डुको दक्षिणकाली नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ मा उत्तिर्ण छात्र छात्रालाई सम्मान गरेको छ ।
सल्लाघारी बाराहिडोलस्थित सामुदायिक भवनमा शनिबार आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १५ जना छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रमको आयोजना गरिएको हो ।
सम्मानित १५ जना मध्ये २ जना ए प्लस, ७ जना ए, ४ जना बि प्लस, २ जनाले बि ल्याएका थिए । एसईईमा सफल दक्षिणकाली वडा नं ४ का सबै छात्र छात्रालाई प्रमाणपत्र र डायरी हस्तान्तरण गरिएको संस्थाका संस्थापक अध्यक्ष प्रकाश विशुन्केले जानकारी दिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले अबको शिक्षा प्रविधिमैत्री रहेकोले विद्यार्थीहरुले त्यसतर्फ ध्यान दिन जरुरी रहेकोमा जोड दिए । विषयगत समिति मार्फत शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै विभिन्न कार्यक्रम अघि सारेको मेयर बस्नेतले बताएका छन् ।
सम्मान कार्यक्रमसँगै सिद्धार्थ बैंक लिमिटेड, फर्पिङ शाखाका प्रमुख उज्जवल खड्का क्षेत्रीले विद्यार्थीहरुसँग ‘एसईई पछि के’ भन्ने उद्देश्यले आयोजित करियर काउन्सिलिङ कार्यक्रममा विद्यार्थीहरुसँग अन्तर संवाद गरे।
एसईईपछिको शैक्षिक भविष्यबारे गम्भीर हुनको लागि विद्यार्थीहरुलाई प्रेरणा दिइएको थियो । उनले विद्यार्थीहरुलाई अहिलेदेखि नै मेहनत गरे जीवनमा सक्षम र सफल हुन सकिने भन्दै हरेक कुराको सफलता व्यवस्थापनमा अडिएको बताए । कार्यक्रममा, वडा नं ४ का जनप्रतिनिधि, युवा समाजसेवी लगायतको उपस्थिति थियो ।




प्रतिक्रिया