बाथरुमले यसरी लिन सक्छ ज्यान


काठमाडौ – बानेश्वरका एलिना अधिकारी बाथरुममा नुहाउन जाँदाको घटना कहिल्यै बिर्सनु हुन्न । त्यही समय ठूलो पाठ सिकाएको छ उहाँलाई । अधिकारी भन्नुहुन्छ, “जाडो मौसमको बिहान सोलारको तातो पानीले नुहाउन भ्यालढोका बन्द गरेँ । तातो पानी खोलेँ । सानो बाथरुम भएकाले त्यसमा धेरै बाफ जम्मा भएर म त नुहाउँदा नुहाउँदै निसास्सिएँ, त्यसपछि केही पत्तो भएन । ”

धन्न उहाँकी बहिनी पनि नुहाउन हतार भएकाले बाथरुममा आइपुगिन् र बाहिरबाट ढोका खोलेर एलिनालाई निकाल्ने काम भयो । समयमै बाहिर आएकाले ज्यान पनि बच्यो, नत्र जे पनि हुन सक्थ्यो । राजधानीका धेरैजसो घरमा बाथरुम सानो हुने र भेन्टिलेसनसमेत नहुने भएकाले यस्तो समस्या आउने गरेको छ । अधिकारीले थप्नुभयो, “त्यो घटनापछि बाथरुमको झ्यालमा पर्दा हालेर भेन्टिलेसन हालेको छु । ”

बाथरुममा लडेपछि गणित पढाउने शिक्षक रामनाथ चापागाईंलाई प्यारालाइसिस भयो । छ महिनापछि अलिअलि हिँडडुल गर्न सक्ने भएपछि उहाँले विद्यार्थीलाई घरमै बोलाएर पढाउन थाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, “हामीले सामान्य सुरक्षामा ध्यान नदिँदा ठूलो घटना निम्त्याउन सक्छ । त्यसैले बाथरुम, ट्वाइलेट सधैँ सफा र सुरक्षित राख्न जरुरी छ । ”

चिकित्सक डा. मनिष श्रेष्ठ बाथरुममा अक्सिजनको अभावमा निसास्सिएर मृत्यु भएको हुनसक्ने बताउनुहुन्छ । चिसो पानीमा नुहाउँदा उच्च रक्तचापका बिरामीलाई हृदयाघात हुनसक्छ तर तातो पानीमा त्यस्तो समस्या नहुनुपर्ने हो । उहाँले भन्नुभयो, “ढोका पूर्ण रूपमा बन्द हुने खालको भएकाले पनि अक्सिजनको अभावमा निसास्सिएर मृत्यु हुनसक्छ । ”

चिसोको समयमा झ्यालढोका बन्द गरेर हिटरलगायत विभिन्न सामग्री प्रयोग गरेर सुत्दा मानिसको ज्यान जाने गरेको डा. श्रेष्ठ बताउनुहुन्छ । कोठामा जम्मा भएको ग्यास बाहिर जान नपाउँदा मानिसको ज्यान जाने गरेको उहाँले बताउनुभयो । झ्याल खोलेर मात्र हिटरलगायत विद्युतीय सामान प्रयोग गर्न उहाँको सुझाव छ ।

सुरुमा टाउको दुख्ने र केही समयपछि निसास्सिएर मानिसको मृत्यु हुने भन्दै उहाँले थप्नुभयो, “बाथरुम अँध्यारो हुनु, साबुन र सेम्पुको चिप्लो रहनु, बाथरुममा पानी चिसो हुनुु, खस्रो सोल भएको चप्पल प्रयोग नगर्नु, राति ब्यूँझिएर अर्धहोशमै बाथरुम जानु जस्ता कारणले दुर्घटना बढिरहेको छ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement