आकस्मिक बजार निरीक्षणमा निस्किए मन्त्री लम्साल

आकस्मिक बजार निरीक्षणमा निस्किए मन्त्री लम्साल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चिप्लेढुङ्गा – कोराना भाइरसको सङ्क्रमण र रोकथामका लागि सरकारले अवलम्बन गरेको लकडाउनले अत्यावश्यक वस्तुको कृत्रिम अभाव र महङ्गी हुन सक्ने भन्दै प्रदेश सरकारले त्यसको आकस्मिक अनुगमन गरेको छ ।

गण्डकी प्रदेशका उद्योग तथा आपूर्तिमन्त्री विकास लम्सालले बुधबार पोखराको शान्ति वनस्थित कृषि उपज बजारको आकस्मिक अनुगमन गरेका हुन् । उनले बजारमा पर्याप्त तरकारी र फलफूल रहेको तर बिक्री वितरणको समय कम भएको व्यवसायीको गुनासो रहेको बताए ।

“अहिले बिहान ४ बजेदेखि ६ बजेसम्म दुई घण्टा मात्रै बजार खुल्ने गरेको छ, तर यस अवधिमा पर्याप्त नभएको र झन् भीड भएको व्यवसायीको गुनासो छ, हामी यसमा पुनर्विचार गरेर समस्या समाधानको पहल गर्नेछौं । अहिले तरकारी, फलफूलमा आपूर्ति र मूल्यमा त्यस्तो समस्या छैन ।”

उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले अत्यावश्यक वस्तुभित्र तरकारी, फलफूल, दूध पनि पर्ने भएकाले यसको आपूर्ति र बिक्रीवितरणको अवस्था बुझ्न र जानकारी लिन अनुगमन गरेको बताए । “तरकारी फलफूल दैनिक आवश्यक बस्तु हुन्, सहज आपूर्ति भएन भने यो बिग्रन सक्छ तसर्थ सहज आपूर्तिको उपयुक्त विकल्प के हुनसक्छ भनेर अनुगमन गरिएको हो”, उनले भने ।

बजारमा १५ दिनसम्म पुग्ने तरकारी फलफूल रहेको र अब फुुटकरमा कसरी बिक्री वितरण हुन्छ त्यसको पनि निगरानी गरेर बढी मूल्यमा बचेको पाइए नियन्त्रणमा लिएर कारवाही हुने उनले जानकारी दिए ।

उद्योग वाणिज्य तथा उपभोत्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले अनुगमनको क्रममा अत्यावश्यक वस्तुको अभाव र मूल्यवृद्धि नदेखिएको बताए । “बाहिरजस्तो खालको हल्ला छ, बजारमा त्यस्तो पाए नौं तरकारी प्रशस्त छ मूल्य पनि यथावत नै छ ।” उनले उपभोग्य वस्तुको प्रशस्त उपलब्धता भए पनि केही व्यक्तिहरुले अत्यधिक खरिद गरिदिँदा केही समस्या देखिएको बताए ।

कृषि उपज बजारका व्यवसायी राजकुमार गुप्ताले बङ्गलादेश भारतदेखि आएका सामान बीचमा अड्किएको र बिक्री वितरणको लागि दुई घण्टाको अवधि थोरै भएको बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तरकारी फलफूल छिट्टै बिग्रने भएकाले यसको बिक्री वितरणमा उच्च स्वास्थ्य सतर्कता अपनाएर वितरणमा सहज बनाउन सकिने बताए ।

अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय पोखराका प्रमुख प्रशान्त पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीलगायतको टोलीले अत्यावश्यक उपभोग्य वस्तुको आकस्मिक अनुगमन गरेको हो । टोलीले कास्कीको कृषि उपज बजार र दूध डेरीको अनुगमन गरेको थियो ।