काठमाडौं – सरकारी टोलीले ललितपुर महानगरपालिकामा सञ्चालिन चारवटा पशु बधशालाको मासु बिक्रिवितरणमा प्रतिवन्ध लगाएको छ ।
कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग, पशु सेवा विभाग र ललितपुर महानगरपालिकाको संयुक्त टोलीले शुक्रबार बिहानदेखि ललितपुर क्षेत्रका पाँचवटा वधशालाको स्थलगत अनुगमन गरेको हो ।
कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले बिहान ४ बजेदेखि ललितपुर, लगनखेलमा सञ्चालिन ५ वटा बधशालाको अनुगमन गरेको थियो। अनुगमन टोलीले मुकेश खड्गी सञ्चालक रहेको आर के मिट सप, सरोज शाहीको ए वान मिट सप तथा देव खड्गी र सुनिल खड्गीद्धारा सञ्चालित पशु बधशालाको मासु बिक्री वितरणमा रोक लगाएको पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मलले जानकारी दिए।
स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सुधार नगर्दासम्मका लागि मासु बिक्री वितरणमा प्रतिबन्ध लगाइएको उनले बताए। देव र सुनिलको बधशाला दर्ता पनि नभइ सञ्चालन भएको पाइएको छ। रोक लगाइएका ती बधशालाहरूले सरसफाइमा ध्यान नै नदिएको, रागाँ भनेर भैंसी काट्ने गरेको, अत्याधिक फोहोर ठाउँमा मासु काट्ने गरेको, यसअघि अनुगमन गरी सुधार गर्न निर्देशन दिँदा पनि पालना नगरेको, तालिम दिएर पनि त्यो अनुसार नगरेको पाइएको निर्मलले बताए।
ती बधशालाहरूमा दैनिक ३० भन्दा बढी रागाँ भैंसी बध गरेको पाइएको छ। कैफियत देखिएपछि मासु नष्ट गर्न महानगरपालिका र नगर प्रहरीको जिम्मा लगाइएको विभागले जनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले ती बधशालाद्धारा उत्पादित मासु खान अयोग्य रहेकाले सुधार नगर्दासम्म बिक्री वितरणमा प्रतिबन्ध लगाइएको बताए।
कृषि राज्यमन्त्री चौधरीले व्यवसायको नाममा आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने काम भएको भन्दै सुधार नहुँदासम्म अनुगमन र नियमनलाई निरन्तरता दिने बताइन्। अनुगमनमा मन्त्रालय, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, महानगरपालिका र स्थानीय प्रशासनको सहभागिता थियो।




प्रतिक्रिया