काठमाडौं – सरकारले चिकित्सा शिक्षा विधेयक २०७५ प्रतिनिधि सभाबाट पारित गराएको घटनाप्रति नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले विमति जनाएका छन् ।
संसदका सदस्य समेत रहेका डा. भट्टराईले विधेयक पास गराउँदा सरकारले अहंकारी चरित्र प्रदर्शन गरेको प्रतिक्रिया दिए । ‘डा. केसीसंग वार्ताको पहल समेत नगरी एकपक्षीयरूपमा चिकित्सा शिक्षा विधेयक संसदबाट पास गराउनु सरकारको अहंकारी चरित्र देखियो,’ डा. भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘प्राविधिकरूपमा सरकारको बहुमत रहेको हुनाले जायजै देखिएला तर, राजनीतिमा नैतिकता र मानवीय संवेदना पनि हुन्छ ।’
डा. भट्टराईले आफूले सहमतिमार्फत् अगाडि बढ्न दिएको सुझाव सरकारले नमानेको उल्लेख गरेका छन् । उनी अगाडि लेख्छन्, ‘हामीले सहमति गर्न दिएको सुझाव सुनिएन । हाम्रो विमति छ ।’
केही दिनअघि अनसनरत डा. केसीले पछिल्लोपटक आफ्ना मागमा असान्दर्भिक माग रहस्यमय ढंगले घुसाएको भन्दै धर्मसंकटमा परेको स्पष्ट पारेका थिए । ‘डा. केसीले उठाएका स्वास्थ्यशिक्षा सम्बन्धी माग र उहाँको जीवनरक्षाबारे सधैं साथ दिंदैआएका हामीजस्ता धेरै मानिसहरूलाई यसपटक त्यहाँ रहस्यमय ढंगले घुसाइएका असान्दर्भिक मागले धर्मसंकटमा पारेको छ,’ उनले तीन दिनअघि लेखेका थिए, ‘मिठो तरकारीमा अलिकति गोबर मिसाइदिएपछि त्यसलाई खाने कि नखाने ? चतुरेहरूकै चाल हो त यो ?’
पछिल्लो अनशनमा डा. गोविन्द केसीले द्वन्द्वकालका घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेर चिकित्सा क्षेत्रको सुधारलाई विषयान्तर गर्न लागेको आरोप लाग्ने गरेको छ ।




प्रतिक्रिया