बेगम हजरत महल तथा चाँदकुँवरको नेपाल प्रवास


शरदचन्द्र ओझा 

काठमाडौँ – अवधकी बेगमको नामले चिनिने बेगम हजरत महल (१८२० – ७ अप्रिल १८७९), नवाब वाजिद अलि शाहकी द्वितीय रानी थिइन् । अंग्रेजहरूको आक्रमणले गर्दा उनका पति कलकत्तामा निर्वासित भएपछि अवधको सत्ताको बागडोर सम्हालेकी थिइन् । यिनले आफ्नो पुत्र सहाजादा बिर्जिस कादरलाई अवध(लखनउ) को बादशाह पनि घोषित गरेकी थिइन् ।

तर, केही समय राज्य चलाएपछि उनलाई अंग्रेजहरूले बिदेसिन बाध्य पारेका थिए । भारतको इतिहासमा बेगम हजरत महलको स्थान एक स्वतन्त्रता सेनानीको रूपमा छ । उनले सन् १८५७ मा ब्रिटिस इस्ट इन्डियासँग युद्ध गरेकी थिइन् । युद्धमा हारेपछि उनले नेपालमा आई शरण लिएको इतिहास छ । उनको सन् १८७९ मा नेपालमै मृत्यु भएको थियो ।

महलको जन्म फैजाबाद अवधमा भएको थियो । उनको नाम मुहम्मदी खातुन थियो । यिनलाई पछि शाही दरबारमा खवासिन (सेविका)को रूपमा पुयाइएको थियो । पछि नवाब बाजिद अली शाहले सहाजादा बिर्जिस कादरलाई जन्म दिएको खुसीमा उनलाई बेगम हजरत महल नाम र उपाधि दिएका थिए ।

विलियम किङ्टनको पुस्तक ‘द प्राइभेट लाइफ अफ अ इस्टर्न किङ’का अनुसार नवाब वाजिद अली शाह अत्यन्त रसिक मिजाजका थिए । यिनको प्रायः समय मोजमस्ती र गानाबजानामा बित्ने गथ्र्याे । दिवाने खासको कार्यमा र उनको अरू जिम्मेवारीमा उनलाई खासै रुचि थिएन । अवधलाई चारैतिरबाट ब्रिटिस फौजले घेरिसकेका थिए । यसरी सुस्त प्रशासक रहेको लखनउलाई आफ्नो वशमा पार्न अंग्रेजहरूलाई खासै कठिन थिएन । यसरी, गभर्नर जनरल १८५६, लोर्ड डलहाउसले वाजिद अली शाहलाई मतियाबुर्ज कलकत्ता लगेर थुनेका थिए ।

१८५७ का वीरहरू नानासाहेब, बेनी माधो, तात्या टोपे, कुँवर सिंह, फिरुज शाहलगायत अन्य क्रान्तिकारी जस्तै उनले पनि लखनउबाटै ब्रिटिस अंग्रेजविरुद्ध युद्ध गरेकी थिइन् । उनी क्रान्तिकारी मात्रै नभएर उनले युद्धको मैदानमै गएर लडेको इतिहास छ । पहिला नानासाहेब अनि पछिबाट फैजाबादको मौलवीहरूसँग मिलेर उनी अगाडि बढेकी थिइन् ।

तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले तारन्तारको अनुरोधपछि बेगम हजरत महललाई नेपालमा शरण दिएका थिए । उनले आफ्नो जीवनको अन्तिम वर्षहरू काठमाडांैमा नै बिताएकी थिइन् । लखनउमा १८५७ को क्रान्तिको नेतृत्व बेगम हजरत महलले गरेकी थिइन् । आफ्नो नाबालिग पुत्र बिरजिस कादरलाई गद्दीमा बसाएर उनले अंग्रेजी सेनाको स्वयं मुकाबला गरेकी थिइन् । उनमा संगठनको अभूतपूर्व क्षमता थियो, जसले गर्दा अवधका जमिनदार, किसान र सैनिक उनको नेतृत्वमा अघि बढिरहे ।

आलमबागको लडाइँका दौरान आफ्ना सिपाहीहरूको उनले भरपूर हौसला बढाएकी थिइन्, साथै हात्तीमा सवार भएर सैनिकहरूको साथमा दिनरात युद्ध गरिरहिन् । बेगम हजरत महल र रानी लक्ष्मीबाईको सैनिक दलमा तमाम महिला सामेल थिए । लखनउमा बेगम हजरत महलको महिला सैनिक दलको नेतृत्व रहिमीको हातमा थियो, उनले फौजको जस्तो पोसाक र भेष गरेर महिलाहरूलाई तोप, बन्दुक चलाउन सिकाइन् ।

भनिन्छ, अवध भारतको अत्यन्त प्राचीन प्रदेशमध्ये एक हो । तत्कालीन समयमा यो एक राज्य नै थियो । अयोध्याका राजा रामचन्द्रले श्रीलंका जितेर अयोध्या फर्केपछि आफ्ना प्रिय भाइ लक्ष्मणलाई लखनपुर उपहार दिएका थिए । कालान्तरमा यही लखनपुर, लखनउ भएको बुझिन्छ ।

ब्रिटिसहरूले लखनउलाई पुनः कब्जा गरेपछि बेगमले तत्कालीन नेपालका प्रधानमन्त्री जंगबहादुर राणासँग शरण मागेकी थिइन् र उनलाई कठमाडौं थापाथलीस्थित हालको नेपाल राष्ट्र बैंक रहेको भवनमा बस्न दिइएको थियो । आफ्ना छोरा र केही विश्वासपात्रसहित उनी लखनउबाट काठमाडौंआएकी थिइन् र यहाँ उनले आफ्नो जीवनको अन्तिम २० वर्ष काट्नुपरेको थियो ।

जंगबहादुरको ब्रिटिसहरूसँग राम्रो सम्बन्ध हुँदाहुँदै पनि बेगमलाई शरण दिएर उनले एक हितैसी छिमेकीको उदाहरण प्रस्तुत गरेका थिए । काठमाडौंमै सन् १८५९ मा यिनको मृत्यु भएको थियो र यिनलाई रत्नपार्कनजिकको जामे मस्जिदमा इस्लामिक परम्पराअनुसार दफनाइएको थियो । बेगम हजरत महलको स्मृतिमा लखनउको हजरतगन्जमा पार्क बनाइएको छ । विकिपेडियाका अनुसार बिर्जिस एक अब्बल दर्जाका सायर पनि थिए, र उनी काठमाडौं मा मुसायराहरूको आयोजन गर्ने गर्दथे ।

यस्तै अर्को प्रसंगमा पन्जाबका महाराजा रणजित सिंहकी रानी चाँदकुँवरलाई दोस्रो सिक्ख युद्ध विजयपछि अंग्रेजहरूले कैद गरेर राखेका थिए । युक्तिपूर्वक बन्धनबाट उम्केर जोगिनीको भेषमा उनी सरासर १८४९ मा नेपालको भिच्छाखोरीसम्म आइपुगिन् । त्यहाँबाट जंगबहादुरलाई पठाएको पत्रमा उनले आफ्नो अस्वस्थताको सूचना साथै अबउप्रान्त नेपालमै बस्ने इच्छा जाहेर गरेकी थिइन् ।

अंग्रेजहरूको कैदबाट भागेकी एक रानीलाई शरण दिनु अंग्रेजसित शत्रुता कमाउनु थियो, तर हाम्रो मूल्य–मान्यताअनुसार शरणागत, त्यो पनि एक असहाय स्त्रीलाई शरण नदिनु नेपाली मान्यताविपरीत थियो । अन्तमा जंगबहादुरले रानी चाँदकँवरलाई इज्जतका साथ काठमाडौं ल्याउन आदेश दिए । चाँदकुँवरलाई नेपालमा पाहुनाका रूपमा शरण दिइएको छ भन्ने खबर सुन्नासाथ नेपाल र कम्पनी सरकारको मित्रताको रक्षार्थ उनलाई छाडी अविलम्ब बुझाउन अंग्रेज सरकारले नेपाल सरकारलाई आग्रह गर्यो ।

जंगबहादुरले नेपालको हिन्दू परम्पराअनुसार शरणागतलाई फिर्ता गरेर पाप गर्न मिल्दैन भनी राजदूतमार्फत उता खबर पठाएका थिए । चाँदकुँवरलाई सुरक्षामा सावधानीपूर्वक नेपाल सरकारको हेरविचारमा राखिने र त्यहाँबाट उनले अंग्रेजविरुद्ध कुनै षड्यन्त्र रचेको खण्डमा आफू उत्तरदायी हुने कुराको आश्वासन दिएकाले अंग्रेजहरूले यस कुरामा पछि कुनै आपत्ति गरेनन् ।चाँदकँवरले थापाथली दरबारनजिकै चारबुर्जाको नामले आफ्नो निमित्त एक पन्जाबी वास्तुकलाले सुसज्जित घर बनाउन लगाई रहन थालेकी थिइन् । पछि नेपाल छाडेर जाने क्रममा यिनले यो घर दान दिइन् । पछि जंगबहादुरले यो घरलाई तोपखानाको रूपमा विकास गरेका थिए ।

श्री ३ जंगबहादुरलाई पनि भारतमा विभिन्न मानपदवी र अलंकारले विभूषित गरेको इतिहास पनि भेटिन्छ । सन् १८५४ मा इन्डियन ग्रान्ड सर्भिस मेडल, सन् १८५८ मा इन्डियन म्युटिनिटी मेडल, सन् १८५८मै नाइटग्रान्ड क्रस अफ द अर्डर अफ द बाथ, सन् १८७३ मा नाइट ग्रान्डकमान्डर अफ द अर्डर अफ द स्टार अफ इन्डिया, प्रिन्स अफ वेल्स मेडल १८७६ इत्यादिबाट जंगबहादुर विभूषित थिए । उनको दूरदर्शिता र छिमेकीसँगको असल व्यवहारको नमुना बेगम हजरत महललाई इज्जतका साथ नेपालमा लामो समयका लागि शरण दिनुबाट प्रस्टै झल्किन्छ । बेगम एक वीराङ्गना थिइन उनले भारतको इतिहासमा साम, दाम, दण्ड, भेदको चाल बोकेर आएका अंग्रेजलाई प्रशस्त चुनौती दिएकी थिइन् ।

यसरी भारतकी एक वीराङ्गना क्रान्तिकारी बेगम र अर्की शरणागत रानी चाँदकुँवरलाई एक असल छिमेकीका रूपमा ससम्मान शरण दिएर इज्जत बढाएको इतिहास हाम्रो मुलुकको रहेको छ । नेपालको गरिमामय आतिथ्यको यो इतिहास र तत्कालीन प्रबुद्धशाली अंग्रेजहरूसँग तिनको इच्छाविरुद्ध तिनकै विरोधीलाई शरण दिनु कम चुनौतीपूर्ण थिएन । यसरी, तत्कालीन नेपाल सरकार प्रमुखको बुद्धिमत्ता पनि यहाँ उजागर हुन्छ ।

नयां पत्रिकाबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस
Advertisement