काठमाण्डु- बेलौरी नगरपालिकामा तीन दिनअघि चौधर नदी र दोदा नदीको बाढी बस्तीमा पस्दा विस्थापनमा परेका परिवार मौसममा क्रमिक रूपमा सुधार आएपछि घर फर्कन सुरु गरेका छन् । डुबानबाट विस्थापनमा परेका एक हजार पाँच सय परिवारमध्ये दुई सय परिवार घर फर्केका छन् ।
बस्तीमा अझै डुबानकै अवस्था रहँदा एक हजार तीन सय परिवार विद्यालय, सामुदायिक भवन, धार्मिक भवनलगायत सुरक्षित स्थानमा बसेका छन् । विस्थापनमा परेका परिवारलाई नगरपालिकाले खाद्यन्न राहतका रूपमा उपलब्ध गराएको छ ।
विस्थापित भई सुरक्षित स्थानमा बसेका परिवार बसेको ठाउँमा पुगेर राहत वितरण सुरु गरिएको नगर उपप्रमुख जोगराम चौधरीले बताए । बेलडाँडीको इमलियास्थित निर्माण गरिएको माटोको बाँध भत्केर चौधर नदी नगरपालिकाको वडा नं १० को कुण्डा, बन्दाजाला, भुडा, भुडागौँडी, सडकघाट, शिवनगर वडा नं ८ को कानपुर, पिसिएन टोल, कलकत्ता, कलकत्ता बजार, पचुँइको पश्चिम टोलमा पसेको थियो । वडा नं ७ का १० घर र वडा नं २ का सात घर डुबानमा परेका थिए ।
यसैगरी, वडा नं ५ को रामनगरमा दोदा नदीको बाढीको पानी पस्दा स्थानीय बासिन्दा डुबानमा परेका थिए । बाढी अझै नघटेकाले धेरै विस्थापित परिवार सुरक्षित स्थानमा बसिरहेका छन् । घरभित्र अन्न भण्डारणका लागि राखेका माटोका भकारी (डेहरी) बाढीको पानीले भिजाउँदा फुटेका छन् । भकारी फुट्दा पूरै अन्न भिजेर कामै नलाग्ने भएको नगरउपप्रमुख चौधरीले बताइन् ।
धान, गहुँ, मकै, तोरी, केराउ, मुसुरो, चनालगायत अन्नसँगै घरभित्र दैनिक खानका लागि राखिएको चामल, पिठोलगायत बाढीको पानीले भिजाउँदा कामै नलाग्ने भएको छ । डुबान क्षेत्रमा सरुवा रोगको सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी दातृ सङ्घसंस्थासँग मद्दतका लाग गुहार मागिएको उपप्रमुख चौधरीले बताउनुभयो । स्वास्थ्य शाखाबाट पनि स्वास्थ्यकर्मीको टोलीलाई सतर्क अवस्थमा राखिएको छ । बेलडाँडी गाउँपालिका र दोधारा चाँदनी नगरपालिका बाढी प्रभावित परिवार पनि मौसममा सुधार हुन थालेपछि घर फर्कन थालेको बताइएको छ ।




प्रतिक्रिया