बेलायती प्रधानमन्त्री मेले दिइन् राजीनामा


एजेन्सी – बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छन् । तीन वर्षसम्म बेलायतलाई युरोपियन युनियनबाट अलग पार्न प्रक्रिया टुंगोमा पुर्‍याउन नसकेपछि उनले शुक्रबार राजीनामाको घोषणा गरेकी हुन् ।

उनको राजीनामा जुन ७ तारिखबाट लागु हुनेछ । उनले प्रधानमन्त्रीको रूपमा ब्रेक्जिटका लागि आफूले सकेको गरेको बताएकी छन् ।

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटमा बोल्दै मेले बेलायतको प्रधानमन्त्रीका रूपमा सेवा गर्न पाउनु आफ्नो अहोभाग्य भएको बताइन् । सम्बोधनका क्रममा उनको गला अवरुद्ध भएको थियो । उनले कुनै पनि दुर्भावना नलिइकनै पदत्याग गरेको बताइन् ।

उनले आफ्ना सरकारले गरेका उपलब्धिहरू पनि यसै सम्बोधनका क्रममा बताइन् । बजेट घाटा, बेरोजगारी घटाएको अनि मानसिक स्वास्थ्यमा लगानी बढाएको उनले उल्लेख गरिन् ।

तर ब्रेक्जिट गराउन नसक्नु आफ्नो कमजोरी रहेको र सधैं पश्चात्ताप गर्ने उनको भनाइ थियो । मे सरकारमा परराष्ट्रमन्त्री रहेका बोरिस जोनसोन आगामी प्रधानमन्त्री हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement