बेन्जेमाको ह्याट्रिकमा रियलको सहज जित


म्याड्रिड – स्ट्राइकर करिम बेन्चेमाको ह्याट्रिकमा स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित हात पारेकाे छ । आइतबार रातिको खेलमा रियलले ३३ वर्षीय स्ट्राइकर बेन्जेमाको ह्याट्रिकमा सेल्टा भिगोलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा बेन्जेमाले ह्याट्रिक गर्दा भेनेसुस जुनियर र इडार्डाे कामाभिन्गाले एक/एक गोल गरे । सेल्टा भिगोका लागि शान्ति मिना र फ्रान्को कार्भीले एक/एक गोल गरे पनि टिमलाई हारबाट जाेगाउन सकेनन् ।

खेलमा अग्रता भने भ्रमणकारी टोली सेल्टा भिगोले बनाएको थियो । शान्ति मिनाले चार मिनेटमा सेल्टालाई अग्रता दिलाएका थिए । २४ मिनेटमा बेन्जेमाले बराबरी गोल फर्काए। ३१ मिनेटमा गोल गर्दै सेल्टाले पहिलो हाफमा २-१ को अग्रता बनायो । उसका कार्भीले गोल गरे ।

अनुभवी स्ट्राइकर बेन्जेमाले खेलको ४६ मिनेटमा गोल गर्दै टोलीलाई २-२ को अवस्थामा पुर्‍याए । त्यसपछि भने रियलले खेल पूर्ण रुपमा आफ्नो पक्षमा पार्‍याे । ५४ मिनेटमा बेन्चेमाको पासमा जुनियरले गोल गरे । ७२ मिनेटमा रियललाई कामाभिन्गाले ४/२ को अग्रता दिलाए । खेल सकिन ३ मिनेट अघि बेन्चेमाले टोलीका लागि पाँचाै तथा व्यक्तिगत ह्याट्रिक पूरा गरे ।

जितसँगै घरेलु टोली रियल म्याड्रिड ४ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ । समान अंक भए पनि भ्यालेन्सिया र एथ्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

आइतबार राति नै भएको ला लिगाका अन्य खेलमा एथ्लेटिको म्याड्रिडले एस्पान्योललाई २–१ गोल अन्तरले पराजित गरेकाे छ। संघर्षपूर्ण जित निकाल्ने क्रममा एथ्लेटिकोको लागि यान्निक कारास्को र थोमस लेमारले एक/एक गोल गरे । भ्यालेन्सियाले ओसासुनालाई ४/१ गोल अन्तर तथा रियल सोसाइडाडले काडिजलाई २/० गोल अन्तरले पराजित गर्‍याे ।

प्रतिक्रिया दिनुहोस
Advertisement