काठमाण्डु–कास्कीको तिखेढुङ्गाबाट म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव फेला परेको छ ।
भदौ ६ गते नेपाल प्रवेश गरी ९ गते अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण आयोजनाको वीरेठाँटी चेकपोस्टमा नाम टिपाएका दुई जना बेपत्ता भएका थिए । एक जना महिला अझै बेपत्ता छिन् ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ को तिखेढुंगास्थित मौजा खोलानजिकै रुकस्याक झोला, मोबाइल, टोपी टिसर्ट लगायतका कपडा तथा ट्रेकिङ सामाग्री बटुवाले देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए ।
घटनालगत्तै वीरेठाँटीस्थित प्रहरी चौकीमा खबर गरिएको वडा नम्बर ९ का अध्यक्ष रमेश गुरुङले जानकारी दिए ।
झोलामा उनीहरुको पासपोर्ट पनि भेटिएको थियो । घोरेपानी हिँडेका स्पेनी नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) भएको पत्ता लागेसँगै उनको थप विवरण र खोजी कार्य थालिएको वडाध्यक्ष गुरुङले बताए ।
भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि फेला पार्न सकिएको थिएन । पर्यटक हराएको जानकारी दूतावासलाई गराइ सकिएको प्रवक्ता गुरुङले बताए ।




प्रतिक्रिया