काठमाण्डु- कञ्चनपुरको बेतकोट नगरपालिकामा छाडा पशु चौपाया व्यवस्थापन पेचिलो बन्दै गएको छ । स्थानीयले छाडा पशु चौपायाका कारण अन्नबालिदेखि राजमार्ग क्षेत्रमा सवारी दुर्घटना बढाएको बन्दै विरोध गरे । छाडा चौपायाले खेतीपातीमा दिनहुँ भइरहेको क्षतिले हैरान बनेका कृषकहरू अन्तिम अवस्थामा गत आइतबार नगरपालिकामा पुगेका हुन् ।
उनीहरूले उचित व्यवस्थापनको माग गर्दै गाउँभरिका छाडा गाईगोरु ल्याएर नगरपालिका परिसरमा दिनभरि थुने । दुई दिनसम्म नगरपालिका परिसरमा रहेका छाडाचौपायालाइ नगरपालिका प्रशासनले जेसीबीमा राखेर सोमवार चुरेफेदीको चुनेपानी पुगायाे ।
तर, त्यहाँका स्थानीयले छाडा चौपाया राख्न नदिएपछि नगरपालिकाले आसपासको क्षेत्रमा अलपत्र छोडेको स्थानीय बताउँछन् । यहाँसम्म की जिउँदै गाई खाडलमा गाडेकोसमेत नगरपालिकालाई आरोप लागेको छ । स्थानीयद्वारा छाडा पशु चौपाया व्यवस्थापनको माग गर्दै नगरपालिकाको कार्यालय भित्र हुलेका छाडा पशु चौपाया रातिको समयमा ट्रकमा लोड गरेर जंगल किनारमा खाडल खनेर नगरपालिकाले जिउदै पशु चौपाया गाडेको आरोप लागेको हो ।
तर, बेतकोट नगरपालिका की उपमेयर तुलसी जोशीले भने उक्त आरोप झुटो भएको काठमाण्डुपाटीलाई बताइन् । आफूहरुले कुनै पनि हालतमा त्यस्तो काम नगरेको उपमेयर जोशीको भनाइ छ । उनले आफूहरुविरुद्ध केही मानिसहरुले झुटो आरोप लगाएको दावी गरिन् ।
तपाईहरुले सामुदायीक पशुचौपाया जिउँदै गाडेकोसम्म आरोप लागेको छ, किन यस्तो गरेको ? भन्ने काठमाण्डुपाटीको प्रश्नमा मेयर जोशीले भनिन्, ‘ छाडा पशु चौपायाको व्यवस्थापनमा हामी लागिरहेका छौँ । अब व्यवस्थापन गर्न केही समय त लाग्छ । मानिसले बच्चा जन्माउन पनि ९ महिना लागउँछ भने यो त व्यवस्थापनको कुरा हो । हामी आएको ७ महिना मात्र भएको छ । बीचमा निर्वाचनको आचारसंहिता लाग्यो । हामी हाम्रो काममा लागिरहेका छौँ । त्यसकारण हामीमाथि लागेको आरोप झुटो हो । केही अराजक तत्वले फैलाएको भ्रम मात्रै हो । जिउँदै गाईगोरु कसैले गाड्दैन’
त्यसोभए स्थानीयहरुले नगरपालिकामा छाडेका चौपायाहरुको व्यवस्थापन कहाँ गर्नु भयो ?, भन्ने प्रश्नमा उनले भनिन् , ‘ हामीले जिउँदै छाडा पशु चौपाया खाडलमा गाडेका छैनौँ । जुन स्थानीयले हामीलाई फोन गरेर यहाँ गाईगोरु मेरेका छन् भनेर खबर गरेपछि हामीले ती मरेकालाई खाल्डोमा गाडेका थियौँ । पछि ती गाडेकालाई उत्खनन् गरेर भ्रम फैलाएको मात्रै हो । अर्को कुरा हामी हिन्दु धर्म मान्छौँ । हामीले गाईलाई माता मानेर पुजा गर्छौ भने हामीले त्यस्तो पाप गर्न सक्दैनौँ । त्यसकारण मरेका गाईलाई पोल्न मिल्दैँन, हाम्रो संस्कार अनुसार खाडल मै हाल्ने हो ’




प्रतिक्रिया