भदौ १५ देखि नियमित पठनपाठनको तयारी

भदौ १५ देखि नियमित पठनपाठनको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो ।

सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन गर्ने विगतको अभ्यास भएकाले यसपटक सोही प्रक्रिया अवलम्बन गर्ने आन्तरिक तयारी गरिएको छ । साउनसम्मको अवस्थालाई विश्लेषण गरेर यस विषयमा अन्तिम निर्णय गर्ने योजना बनाइएको छ ।

भदौ १५ गतेबाट विद्यालय तहको पठनपाठन नियमित सुरु गर्न सकिए आगामी चैत वा वैशाखसम्म पठनपाठन पूरा गर्न सकिने सम्भावना रहेको जनाइएको छ । चैतमा सामान्यतया शैक्षिक सत्र सकिने भए पनि यसपटक चैत वा वैशाखसम्ममा शैक्षिक सत्र पूरा गर्न सकिने केन्द्रका निर्देशक गौतमले बताउनुभयो ।

पछिल्लो शैक्षिक सत्रको एक महिना अध्यापन गराउन सकिए समस्या नहुने उहाँको भनाइ छ । सरकारले औपचारिक रूपमा असार १ गतेदेखि सबै विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन सञ्चालनमा ल्याएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन)का केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले भदौ १ गतेबाट विद्यार्थी भर्ना, शैक्षिक क्रियाकलाप तथा परीक्षा सञ्चालनसमेत खुला गरिएपछि भदौ १५ बाट नियमित पठनपाठनमा जानु सान्दर्भिक नै हुने बताउनुभयो तर सामाजिक दूरी भने कायम गर्न सक्नुपर्ने र त्यसलाई विशेष रूपमा व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।