यसरी हुंदैछ तीन पार्टीबीच मन्त्रालयको भागवण्डा,सपथ लिएका मन्त्रीको मन्त्रालय परिवर्तन हुन सक्ने


काठमाण्डु– नेपाली कांग्रेस,माओवादी केन्द्र र उपेन्द्र यादव नेतृत्वको जसपाले सरकार संचालन गर्न कार्यदल बनाउने भएको छ । कार्यदलमा एमालेको माधव कुमार नेपाल पक्षलाई पनि समेटिने भएको छ ।

कार्यदलले सरकार संचालनका लागी सहमतीको आधारमा साझा नीति तथा कार्यक्रम बनाउन र मन्त्रालय बांडफाडलगायत राजनीतिक नियुक्तीको मापदण्ड बनाउनका लागी काम गर्ने जसपाका नेता मोहम्मद इस्तियाक राईले बताए । कार्यदलले यो गठवन्धनलाई चुनावसम्मै सहकार्य गर्नको लागी सहमतीको खाका समेत बनाउनेछ ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको छलफलपछि कांग्रेस महामन्त्री पुर्ण बहादुर खड्काको नेतृत्वमा कार्यदल बनेको हो । कार्यदलको पहिलो बैठक बुधवार बसेको थियो । ७ सदस्यीय कार्यदलमा कांग्रेसबाट खड्कासहित डा.मिनेन्द्र रिजाल, रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव रहेका छन् ।

कांग्रेस,माओवादी केन्द्र र जसपाबीच आगामी चुनावसम्म गठवन्धन बनाउने गरी छलफल चलिरहेको छ । कार्यदल सरकारलाई प्रभावकारी बनाउन र सहमतिका आधारमा सरकार संचालन गर्नको लागी बनाइएको नेताहरुले दावी गरेका छन् ।

निर्वाचन आयोगको आजको निर्णयअनुसार जसपाको आधिकारिता उपेन्द्र यादवले पक्षले पाउने भएपछि मन्त्रिमण्डल गठन प्रक्रिया समेत अगाडी बढ्ने भएको छ ।

प्रधानमन्त्री देउवा,माओवादी केन्द्रका अध्यक्ष दाहाल र जसपा अध्यक्ष यादवबीच मन्त्रालय बांडफांडको मापदण्ड बनाएर अघि बढ्ने सहमती भएको छ । तिनै नेताहरुको सहमतीअनुसार कार्यदलले मन्त्रालय बांडफाडको लागी गृहकार्य समेत सुरु गरिसकेको छ । २१ वटा मन्त्रालयलाई तिन भागमा बांडेर भागवण्डा गर्ने कार्यदलमा सहमती बनेको छ । देउवाले २५ जनाको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । जसमा ३ जना राज्यमन्त्री हुनेछन् ।

प्रधानमन्त्री देउवाले साउन १२ गतेभित्र मन्त्रिमण्डल बनाउने गरी छलफल सुरु गरेका छन् । जसअनुसार माधव नेपाल पक्ष,कांग्रेस,माओवादी केन्द्र र जसपाले ६, ६ वटा मन्त्री लिने सहमती बनेको छ । तर, नेपाल समुह सहभागी नबने त्यसमा फेरबदल समेत हुनेछ ।

चारै पार्टीका शिर्ष नेताहरुले मन्त्रालयलाई शक्तिशाली, सामाजिक, विकासे, सामान्य र साना मन्त्रालय गरी पांच भागमा विभाजन गरेर भागवण्डा गर्ने सहमती गरेका छन् ।

जसअनुसार गृह,रक्षा परराष्ट्र,कानुन र संघिय मामिलालाई शक्तिशाली सुचीमा, अर्थ,जलस्रोत,भौतिक,शहरी विकास र खानेपानीलाई विकासे सुचीमा,शिक्षा,स्वास्थ्य,श्रम र कृषीलाई सामाजिक मन्त्रालयको सुचीमा राखिएको छ । त्यसैगरी सामान्य मन्त्रालयको सुचीमा पर्यटन,उद्योग,भुमि व्यवस्था र संचार र साना मन्त्रालयको सुचीमा वन,युवा तथा खेलकुद र महिला तथा बालवालिकालाई राखिएको छ ।

यीमध्ये सवै सुचीबाट मन्त्रालय भागवण्डा गर्ने गठवन्धनमा सहमती भएको छ । कार्यदलले त्यसैमा गृहकार्य गरेर शिर्ष नेतृत्वलाई बुझाउनेछ ।

देउवासंगै अर्थमन्त्रालय माओवादी केन्द्रबाट जनार्दन शर्मा, उर्जामा पम्फा भुषाल, कांग्रेसबाट गृहमा बालकृष्ण खांड र कानुनमा ज्ञानेन्द्र बहादुर कार्कीले सपथ लिइसकेका छन् । उनिहरुको समेत मन्त्रालय फेरबदल हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement