काठमाण्डु – बलात्कारपछि हत्या गरिएकी बझाङकी १७ वर्षीया किशोरी भागरथी भट्ट र आरोपी दिनेश भट्टको डीएनए मिलेको छ । मृतक भागरथीको भजाइनल स्वाव आरोपित दिनेशसँग मिलेको हो ।
केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणबाट डीएनए मिलेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश कुमार सिंहले काठमाण्डुपाटीलाई जानकारी दिए ।
जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो । स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धान थप बलियो बनेको एसएसपी सिंहले बताए ।
दिनेशका बाबु दीपकले घटनालाई मोड्ने हिसाबले विभिन्न अभिव्यक्ति दिइरहेका बेला डीएनए मिल्नु प्रहरीका लागि बलियो प्रमाणका रुपमा रहेको उनले बताए ।
गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् ।
प्रहरीले घटनाको अनुसन्धानपछि ती किशोरलाई फागुन ४ गते नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले जिल्ला अदालतबाट चार पटक ५–५ दिनका लागि म्याद थप गरेर थप अनुसन्धान गरेको थियो । ती किशोरले यसअघिनै आफूले बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकार गरिसकेका छन् ।
सनातन धर्म माविमा कक्षा ११ पढ्ने ती किशोर र सोही विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका हुन् । नाताले यी दुवैजना दिदीभाइ पर्छन् ।




प्रतिक्रिया