भागरथीको हत्यारालाई तत्काल कारवाही होस् : सुदूरपश्चिम सम्पर्क कमिटि

भागरथीको हत्यारालाई तत्काल कारवाही होस् : सुदूरपश्चिम सम्पर्क कमिटि


काठमाण्डु –  नेकपा प्रचण्ड-माधव समूहकाे सुदूरपश्चिम सम्पर्क कमिटिले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । शनिबार प्रचण्ड-माधव समूहकाे सुदूरपश्चिम सम्पर्क कमिटिका अध्यक्ष शिव ठकुल्लाले विज्ञप्ति जारी गर्दै घटनाले आफूहरु स्तब्ध भएको बताएका छन् ।

‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भत्र्सना गर्दछौं’ उनले भनेका छन् ।

“डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ ।”

विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा जिम्मेवार बन्न सरकारसँग आग्रह गर्दै सुदूरपश्चिम सम्पर्क कमिटिले सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ । सुदूरपश्चिम सम्पर्क कमिटिले मृतक किशोरी भागरथीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।