सुनसरी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताएकी छन् ।
शनिबार नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले शान्ति सुरक्षा कायम गर्नका निम्ति सुरक्षा निकायको विशेष भूमिका रहेको बताइन् ।
उनले जो जहाँ छ, त्यो व्यक्ति वा निकायले देश र समाजका निम्ति विशेष भूमिका खेल्नुपर्ने बताइन् । सूचना क्षेत्र, सञ्चारको क्षेत्र, शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा नेपाली सुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै मन्त्री चौधरीले भनिन्, ‘सुरक्षा निकायमा काम गर्ने सबै व्यक्तिहरूले । अन्य सार्वजनिक सेवामा काम गर्ने व्यक्तिहरूले पनि घरपरिवार सबै छाडेर देशको सेवामा आफूलाई समर्पित गर्दै आउनुभएको छ । त्यस कार्यप्रति हामी उच्च प्रशंसा गर्दछौं ।’
सकारात्मक सोचका साथ अगाडि बढ्न समेत आग्रह गर्दै मन्त्री चौधरीले मुलुक बनाउनका निम्ति नेपालको रक्षा गर्नका निम्ति मुलुकको उर्वराको रक्षा गर्नका निम्ति सबैले भूमिका खेल्नुपर्ने बताइन् ।
धान दिवसलाई राष्ट्रिय उत्सवको रूपमा मनाउँदै आएको भन्दै उनले यो दिवसले किसान र कृषि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताइन् । ‘परम्परागतदेखि नै असारमा केही न केही कार्यक्रम गर्दै आएको पाइन्छ । २०६१ सालदेखि नेपाल सरकारले असार १५ गतेलाई धान दिवस मनाउँदै आएको हो,’ उनले भनिन् । उनले बच्चादेखि नै यस्तो कुराहरू परिवारमा समेत मनाउने प्रचलन रहेको स्मरण गरिन् ।
यस वर्षदेखि नेपाल सरकारले कृषि दशक वर्ष मनाउन सुरु गरेको भन्दै उनले भने जति बजेट भने व्यवस्था हुन नसकेको गुनासो गरिन् । ‘यसलाई बिस्तारै बृद्धि गर्दै लैजानुपर्छ । यस्ता कार्यक्रम सञ्चालन गर्दा बजेटको सीमितताका कारण समस्या हुने गरेको छ,’ उनले भनिन् ।
सरकारले दिने स्रोतसाधन प्रायः सबै क्षेत्रमा कमी भएका कारण काम गर्न कठिनाइबीच व्यवस्थापन गर्न सकिने उनले बताइन् । राज्यले सुरुआत गरेको धान दिवसले किसानहरू प्रोत्साहित हुने मन्त्री चौधरीले बताइन् ।
नेपालको ब्रान्ड यो हो भनेर केही विशेष उत्पादनहरूमा हुनुपर्ने भन्दै उनले परम्परागत रूपमा जानेको सीपलाई केही वैज्ञानिकता मिलाएमा अझ प्रभावकारी हुने बताइन् ।





प्रतिक्रिया