भृकुटीमण्डपको हङकङ बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

भृकुटीमण्डपको हङकङ बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (खुला वा सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिएकी छन् ।

समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्र निरीक्षण गर्दै मन्त्री चौधरीले अहिले जसरी बजार सञ्चालन भइरहेको छ, त्यसले कुनै पनि बेला खतरा निम्त्याउन सक्ने बताइन् ।

उनले हङकङ बजारलाई व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिइन् । चालू आर्थिक वर्षमा ४ करोड बजेट रहेको भन्दै उनले भृकुटीमण्डप प्रदर्शनी स्थलमा रहेको संरचनालाई सेमिपर्मानेन्ट बनाउनका निम्ति प्रक्रिया अगाडि बढाउन समेत त्यस क्रममा निर्देशन दिइन् ।

‘यहाँ (भृकुटी मण्डप) मा रहेको प्रदर्शनी हल जीर्ण बनिसकेकोले यो हलको पुनर्निर्माण, स्तरोन्नति गर्न आवश्यक छ । त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोला,’ मन्त्री चौधरीले परिषद्का कर्मचारीलाई निर्देशन दिँदै भनिन् ।

उनले भृकुटीमण्डपको पार्क, उद्यान लगायतका क्षेत्रको व्यवस्थापन गर्न समेत निर्देशन दिँदै भाडा नतिर्नेहरूसँग कसरी भाडा उठाउने भन्ने सन्दर्भमा योजना बनाउन निर्देशन दिइन् । उनले भनिन्, ‘सरकारी संरचनामा बसेर भाडा नतिर्ने भन्ने हुँदैन । यहाँ भाडामा बसिरहेका तर लामो समयदेखि भाडा नतिर्नेहरूलाई भाडा कसरी उठाउने भन्ने विषयमा तपाईंहरूले योजना बनाएर काम गर्नुस् ।’

त्यस अवसरमा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले भृकुटीमण्डप क्षेत्रका जीर्ण संरचनाहरू व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।