परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन


काठमाण्डु – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् ।

बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै उनले नीतिगत निर्णय गर्दै २ महिनामा ‘रिजल्ट’ ल्याउने गरी काम गर्न निर्देशन दिइन् ।

अर्थपूर्ण रूपमा काम गर्न कम्पोजिशन मिल्नुपर्ने बताउँदै मन्त्री चौधरीले भनिन्, ‘जनगुनासो चासो अनुसार मन्त्रालयको लक्षित क्षेत्रअनुसार काम गर्नुस् । परिणाम देखाउने गरी काम गर्नुपर्‍यो । भए गरेका काम कारबाहीका विषयमा समीक्षा पनि गर्नुस् ।’

उनले पछिल्ला २ महिनामा भए गरेका महत्त्वपूर्ण कामको समीक्षा गरी रिपोर्ट तयार गर्न समेत कर्मचारीलाई निर्देशन दिइन् ।

सरकारले अन्तर्राष्ट्रिय सन्धि–सम्झौता गरिसकेपछि त्यसको पालना गर्नुपर्ने भन्दै मन्त्री चौधरीले त्यसप्रति राज्य जिम्मेवार रहनुपर्ने बताइन् । सेवाग्राहीले मन्त्रालय छ भन्ने महसूस हुने गरी काम गर्नुपर्ने भन्दै उनले सीमित स्रोतसाधनका कारण समस्या उत्पन्न भएको बताइन् ।

त्यसका बाबजुद पनि बढीभन्दा बढी सेवाग्राहीलाई लाभ हुने गरी काम गर्नुपर्ने उनको भनाइ छ । मन्त्रालयसँग सम्बन्धित विषयमा संसद्मा उठेका प्रश्नहरूको पनि सम्बोधन गर्न सम्बन्धित शाखाबीच समन्वय गर्न मन्त्री चौधरीले निर्देशन दिइन् ।

त्यस अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोगी उपलब्ध गराउने विषय महत्त्वपूर्ण भएको भन्दै मन्त्रालयले बजेट वृद्धि गर्ने सन्दर्भमा पहल गरिरहेको बताइन् ।

मन्त्रालयले काम गर्ने क्षेत्र ठूलो भएको भन्दै उनले जिम्मेवारी अनुसार सबै क्षेत्रमा राम्रा काम गर्ने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement