थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ : मन्त्री चौधरी

थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ : मन्त्री चौधरी


काठमाण्डु – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताएकी छन् ।

थारु कल्याणकारी सभा केन्द्रीय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा शनिबार काठमाण्डुमा आयोजना गरेको ‘थारु भाषा संस्कृति सम्बन्धी अन्तर्क्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री चौधरीले संस्कार संस्कृतिको रक्षा गर्नु सबैभन्दा पहिले सोही समुदायको दायित्व बढी हुने बताइन् ।

थारु जाति भाषा, संस्कृति, संस्कारले सम्पन्न तराईको आदिवासी भएको भन्दै उनले ती कुराको संरक्षण गर्नु आवश्यक रहेको बताइन् । ठाउँ अनुसार केही केही शब्दहरू फरक रहने गरेको भन्दै मन्त्री चौधरीले भाषाको संरक्षणका निम्ति ती कुराहरूमा एकरूपता ल्याउन मानक भाषा बनाउनै पर्ने बताइन् ।

‘भाषा नरहेमा त्यो जातिको अन्य कुराहरू बिस्तारै हराउँदै जान्छन् । त्यसैले हामीले भाषाको संरक्षणलाई प्राथमिकता दिनुपर्छ । थारु भाषाको लिपिको विषयमा पनि एउटा निष्कर्ष निकाल्न आवश्यक छ,’ मन्त्री चौधरीले भनिन्, ‘भाषा संरक्षण गर्न सबैको भूमिका उत्तिकै हुनुपर्छ । ठाउँअनुसार भाषामा केही केही कुरामा भिन्नता छन् । तथापि हामीले त्यसलाई मानक भाषाका रूपमा एकरूपता ल्याउन आवश्यक छ । त्यो एकदमै जरुरी छ ।’

उनले थारु जातिभित्रको भाषा, संस्कार, संस्कृतिभित्रको विविधतालाई पनि कसरी एकरूपता खोज्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताइन् ।