काठमाण्डु- भक्तपुर–२ का मतदाताको रोजाइ हरेक निर्वाचनमा फरक हुन्छ । उनीहरू हत्तपत्त दोहोर्याएर उम्मेदवारलाई जिताउँदैनन् । त्यसैले हरेक निर्वाचनमा यहाँका मतदाताले प्रतिनिधि परिवर्तन गर्दै आएका छन् ।
२०४८ यताका निर्वाचन परिणामहरूले यो निर्वाचन क्षेत्रले एउटै प्रतिनिधिलाई दोहोर्याएर पठाउन रुचि नदेखाएको स्पष्ट गर्छ ।
२०४८ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका जगन्नाथ आचार्य निर्वाचित भएका थिए भने २०५१मा भएको मध्यावधी निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका आशाकाजी बसुकला निर्वाचित भए ।
त्यसपछि क्रमशः नेपाली कांग्रेसका लेखनाथ न्यौपाने, नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति, नेपाली कांग्रेसका रमेश्वर प्रसाद ढुंगेल, नेकपा (एमाले) का महेश बस्नेत र नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री निर्वाचित भएका छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्री निर्वाचित भए र उनका प्रतिस्पर्धी थिए नेकपा (एमाले) का महेश बस्नेत ।
यसपटक एमाले सचिव बस्नेत पुनः निर्वाचन मैदानमा छन् र पछिल्ला गतिविधिका कारण बारम्बार चर्चामा रहेकाले उनी भक्तपुर–२ का अग्रणी उम्मेदवारमध्ये एक हुन् ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि अन्य दलका नेताहरू बोल्न हिच्किचाइरहेका बेला एमालेका बस्नेत र उनको टोली सडकमा उत्रिएको थियो । उनले ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा कार्यकर्ताको मनोबल बढाउन कार्यक्रम आयोजना गरेका थिए ।
बस्नेतले सामाजिक सञ्जालमार्फत जेन–जी आन्दोलनका हिंसात्मक पक्षबारे कडा टिप्पणी गर्दै आएका छन् । अरूको नकारात्मक आलोचनाले उनलाई असर गरेको देखिँदैन ।
उनले आफू निर्वाचित भएर गृहमन्त्री बने जेन जीलाई जेल हाल्ने चेतावनी पनि दिँदै आएका छन् । साथै, उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका नेताहरूका कडा आलोचक रहँदै आएका छन् ।
यसै कारण रास्वपाका राजीव खत्री, जो लामो समयदेखि सामाजिक सञ्जालमा बस्नेतका मुखर आलोचक रहँदै आएका छन्, उनी भक्तपुर–२ बाट उम्मेदवार बनेका छन् ।
सामाजिक सञ्जालमा एक–अर्काका कडा आलोचक रहेका बस्नेत र खत्री एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएपछि भक्तपुर–२ को नतिजाप्रति चासो झन् बढेको छ ।
वडा अध्यक्ष हुँदै राष्ट्रिय राजनीतिमा प्रवेश गरेका बस्नेतले भक्तपुरमा आफ्नै किसिमको छवि बनाएका छन् । पत्रकारिता पृष्ठभूमि भएका खत्री भने राजनीतिक क्षेत्रमा नयाँ अनुहार हुन् ।
नेपाली कांग्रेसका कबिर राणा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रामप्रसाद सापकोटा ‘दीपशिखा’ पनि भक्तपुर–२ का उम्मेदवार हुन् । राणा र सापकोटाको व्यक्तिगत प्रभावभन्दा पनि उनीहरूको पार्टी संगठन नै बढी प्रभावशाली कारक मानिन्छ ।
तर भक्तपुर–२ मा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच हुने देखिन्छ । भक्तपुर–२ मा कांग्रेस आन्तरिक पक्ष सुदृढ बनाएर अघिल्लो निर्वाचनको जितलाई निरन्तरता दिने गरी चुनावी परिचालनमा अघि बढेको छ भने एमालेका बस्नेत अघिल्लोपटकको पराजयबाट पाठ सिकेर पुनः ‘कम ब्याक’ गर्ने रणनीति बनाएर प्रचारमा अघि बढेका छन् ।
नेमकिपा भने विकास निर्माणलाई प्रचार गरेर जितको प्रयत्नमा देखिन्छ । रास्वपा अघिल्लो निर्वाचनको मत रक्षा गर्दैे माहोल सकारात्मक रहेको मूल्यांकनसहित जित्ने योजनामा अघि बढेको छ ।
नेकपाले युवा क्षेत्रमा क्रियाशील नयाँ अनुहारका रूपमा अघि सारेको उम्मेदवार सापकोटाप्रति आकर्षण बढाएर जित्ने गरी रणनीति बनाएको छ ।
उज्यालो नेपाल पार्टीले जितराम लामा, श्रम संस्कृति पार्टीले अर्जुन बसु र प्रगतिशील लोकतान्त्रिक पार्टी (पीएलपी) ले जन्मदेव जैसीलाई उम्मेदवार बनाएको छ । जैसी पनि पूर्व पत्रकार हुन् ।
भक्तपुर–२ मा कुल ९८ हजार ३५६ मतदाता छन् । जसमा ४८ हजार ०७४ पुरुष, ५० हजार २७७ महिला र ५ जना अन्य मतदाता छन् । सूर्यविनायक र मध्यपुर थिमी नगरपालिका भक्तपुर–२ संसदीय निर्वाचन क्षेत्रअन्तर्गत पर्छन् । यी दुई नगरपालिकामा गरी १९ वडा छन् ।
यो क्षेत्रमा ३९ मतदानस्थल र ११४ मतदान केन्द्र गरी जिल्लामा कुल ७६ मतदानस्थल र २३३ मतदान छन् ।




प्रतिक्रिया