महेश बस्नेत र नारायणमान विजुक्छेको गृहजिल्ला भक्तपुरमा यसरी हुनेछ गठबन्धनको रोचक प्रतिस्पर्धा

महेश बस्नेत र नारायणमान विजुक्छेको गृहजिल्ला भक्तपुरमा यसरी हुनेछ गठबन्धनको रोचक प्रतिस्पर्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सांस्कृतिक सम्पदाले धनी भक्तपुर जिल्लामा पनि चुनावी चहलपहल बढेको छ । चारवटा मात्रै स्थानीय तह रहेको यो जिल्लामा एमाले, कांग्रेस, मजदुर किसान पार्टी, राप्रपा र माओवादी केन्द्र बढी क्रियाशील देखिन्छन् ।

अघिल्लो चुनावका आधारमा भक्तपुरमा एमाले सबैभन्दा ठूलो दल हो । जिल्लामा चारवटा नगरपालिका छन् । ०७४ सालको स्थानीय चुनावमा तीमध्ये तीन वटामा एमालेले बाजी मारेको थियो । एउटामा मजदुर किसान पार्टी विजयी भयो ।

सदरमुकामसमेत रहेको सबैभन्दा ठूलो भक्तपुर नगरपालिकामा मेयर–उपमेयरसहित अधिकांश जनप्रतिनिधि मजदुर किसान पार्टीले जितेको छ । यो नगरमा दुवै मुख्य पदमा भारी अन्तरले मजदुर किसान पार्टीका उम्मेदवार विजयी भएका थिए ।

एमालेले चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकामा मेयर–उपमेयर नै जितेको छ । यस्तै, मध्यपुर थिमिमा उसले मेयर जितेको छ । कांग्रेसले मध्यपुर थिमिको उपमेयर मात्रै जितेको थियो । माओवादी र राप्रपाले प्रमुख–उपप्रमुखमा जित निकाल्न सकेनन् ।

आगामी चुनावमा भक्तपुरमा एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । भक्तपुर नगरपालिकामा भने मजदुर किसान पार्टीको पकड कायमै छ । त्यसैले यहाँ अन्य सबै दल मिले पनि उसलाई हराउने सम्भावना छैन । सूर्यविनायकमा सत्तागठबन्धनकारी दल मिल्दा पनि एमाले नै अघि देखिन्छ ।

चाँगुनारायणमा राप्रपा र मजदुर किसान पार्टीसँग मिल्न सके मात्रै कांग्रेसले बाजी मार्न सक्छ । नत्र एमाले नै अघि देखिन्छ । मध्यपुर थिमिमा अघिल्लोपटक एमाले र नेमकिपाले तालमेल गरेका थिए । त्यसैअनुसार एमालेका मेयर विजयी भए । तर, उपमेयरमा नेमकिपालाई धेरै एमालेले मत दिएनन् र कांग्रेसले जित्यो ।

आगामी चुनावमा एमालेले नेमकिपासँग तालमेल गरेन भने थिमिका प्रमुख र उपप्रमुखमा कांग्रेसले बाजी मार्न सक्नेछ । भक्तपुरमा माओवादी निर्णायक अवस्थामा छैन । राप्रपाको भने उल्लेख्य मत छ । त्यसैले आगामी चुनावमा भक्तपुरका चारवटा स्थानीय तहमा ठूलो उलटफेर हुने सम्भावना देखिँदैन ।

यद्यपि, एमालेको विभाजन र थपिएका मतदाताका कारण एउटा स्थानीय तहमा भने परिणाम फरक आउन सक्छ । तीनवटामा भने पहिलेकै दलले फेरि पनि जित्ने सम्भावना देखिन्छ । जिल्लामा एकीकृत समाजवादीको उल्लेख्य प्रभाव देखिँदैन । जिल्लामा १ लाख ८९ हजार ५ सय ९४ मतदाता छन् । ती मध्ये ९२ हजार २ सय ६५ पुरुष र ९७ हजार ३ सय १४ महिला तथा ५ जना अन्य छन् ।

हेर्नुस्, भक्तपुरका चारवटै स्थानीय तहमा ०७४ सालको निर्वाचन परिणाम इन्फोग्राफमा ।