भालुवाङ आसपासमा जग्गा किनबेच र कित्ताकाटमा रोक

भालुवाङ आसपासमा जग्गा किनबेच र कित्ताकाटमा रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – प्रदेश ५ को सरकारले स्थायी राजधानी टुङ्गो लगाउने प्रक्रिया अघि बढाएसँगै जग्गा किनबेच र कित्ताकाटमा रोक लगाइएको छ । दाङको भालुवाङलाई स्थायी राजधानी तोक्ने प्रक्रिया अगाडि बढाएसँगै सो क्षेत्रको जग्गा खरिद बिक्री र कित्ताकाटमा रोक लगाइएको हो ।

प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मालपोत कार्यालय दाङ र अर्घाखाँचीलाई पत्राचार गर्दै भालुवाङ वरपरका जग्गा किनबेच र कित्ताकाटमा रोक्का गरिएको जानकारी दिएको छ । दाङको राप्ती गाउँपालिकाका पूरै भाग, गढवा गाउँपालिकाका वडा नम्बर १,२ र ३ का साथै अर्घाखाँचीको शितगंगा नगरपालिकाका वडा नम्बर ८ र ९ मा जग्गाको कित्ताकाट र किनबेचमा रोक्का लगाइएको जानकारी गराइएको छ ।

प्रदेश नं ५ को प्रदेशसभाको आजको बैठकमा सरकारले प्रदेशको स्थायी राजधानी र नामकरण सम्बन्धमा औपचारिक प्रस्ताव पेश गरेपछि प्रक्रिया अघि बढेको हो ।

प्रदेश सरकार गठन भएको करीब साढे दुई वर्षपछि सो प्रक्रिया अघि बढाइएको हो । प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले नेपालको संविधानको धारा २८८ को उपधारा २ र धारा २९५ को उपधारा २ तथा प्रदेश नामकरण र स्थायी राजधानीसम्बन्धी आन्तरिक कार्यविधिको दफा ४ को उपदफा ३ बमोजिम प्रस्ताव प्रस्तुत गरिएको बताए ।

प्रदेशसभामा पेश गरिएको प्रस्तावमाथि यही असोज १९ गतेदेखि छलफल शुरु हुने सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए । प्रदेशसभाको आगामी बैठक यही असोज १९ गते मध्याह्न १२ बजे बस्ने छ । सभामुख घर्तीले आगामी बैठकमा सरकारको प्रस्तावमाथि छलफल हुने भएकाले सचिवालयमा नाम टिपाउन सांसदलाई आग्रह गरे ।

प्रदेशसभाको दुईतिहाइ बहुमतले पारित गरेपछि प्रदेशको स्थायी राजधानी र नामको अन्तिम टुङ्गो लाग्नेछ ।