आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती मनाइँदै

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती आइतबार देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक मनाइँदै छ।

नेपाली भाषामा पहिलोपटक रामायण अनुवाद गरेर आम नेपालीलाई धर्म, संस्कृति र साहित्यमा पहुँच दिलाएका भानुभक्तको योगदान स्मरण गर्दै विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाउन लागिएको हो ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

विसं १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीको प्रेरणाले रामायण नेपालीमा अनुवाद गर्न उत्प्रेरित गरेको इतिहास प्रसिद्ध छ। उनका रामायणबाहेक वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता जस्ता काव्यकृतिहरू नेपाली साहित्यका धरोहर मानिन्छन्।

भाषा, साहित्य र संस्कृतिका माध्यमबाट नेपाललाई एकताको सूत्रमा बाँध्ने भानुभक्तको योगदान अमूल्य रहेको विज्ञहरूको भनाइ छ। पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रूपमा एकीकरण गरेझैँ भानुभक्तले भाषा र भावनात्मक एकता प्रदान गरेको उनीहरू बताउँछन्।

नेपालसँगै भारतको दार्जिलिङ, सिक्किम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय रहेका देश तथा स्थानहरूमा पनि भानु जयन्ती उत्साहका साथ मनाइने गरिएको छ ।

भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र भोलिवादका कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए–‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।