काठमाण्डु – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले वर्तमान गठबन्धनको सरकार २ पटक ढल्ने बताएका छन् ।
धरानमा जारी बिजनेश एक्स्पोको शनिबार समापन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा गर्ने बेलामा २ पटक सरकार ढल्ने स्पष्ट पारे ।
उनले २०८३ असार र २०८४ मंसिरमा २ पटक अहिलेको गठबन्धन नेतृत्वको सरकार ढल्ने बताए । २ प्रमुख दलहरू एमाले–कांग्रेसलाई खेलेर सत्तामा रमाउने माओवादी दोहोरो चरित्रको अन्त्यका लागि वर्तमान गठबन्धन बनेको उनले बताए ।
उनले भने, ‘एमालेलाई धोखा दिएर फुत्त कांग्रेससँग टाँसिने र कांग्रेससँग अघाएपछि फेरि एमालेको काँधमा चढ्ने माओवादी प्रवृत्तिको उपज यो गठबन्धनको सरकार हो ।’
२०८४ सालको निर्वाचनमा एमाले–कांग्रेस प्रतिद्वन्द्वी हो भन्ने दुवै पार्टीलाई थाहा भएको उनले बताए । उनले भने, ‘हामी सिंगल–सिंगल प्रतिस्पर्धा गर्छौं । एमालेले जिते कांग्रेस प्रतिपक्षमा बस्छ, कांग्रेसले जिते एमाले प्रतिपक्षमा बस्छ ।’
गठबन्धनलाई सत्तोसरोप गर्ने, सरकार आजै ढलिहाल्यो, भोलि ढल्छ भनेर भ्रम फैलाउनुको कुनै तुक नरहेको उनले बताए ।




प्रतिक्रिया