काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा हालसम्म ६ प्रतिशत कोरोना भाइरसको संक्रमण समुदायस्तरबाट भेटिएको बताएका छन् । उनले अरु ९४ प्रतिशत कोरोना भाइरसका संक्रमित विदेशबाट आएका व्यक्ति रहेको बताएका छन् ।
मंगलबार नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग गरेको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले अहिलेसम्म देशमा संक्रमण भएका १३ हजार संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा संक्रमण फेला परेको बताए ।
उनले कोरोना संक्रमण नियन्त्रयणकै स्थितिमा रहेको दाबी गरे । उनले दैनिक १० हजार जनाको पिसिआर विधिबाट परीक्षण गर्ने तयारी रहेको समेत बताए ।
‘२२ वटा ल्याबहरु हामीसँग अहिलेसम्म चलेका छन् । त्यसलाई बढाएर ३३ सम्म पुर्याएर प्रतिदिन १० हजार पिसिआर परीक्षण गराउन सकिने गरी सरकार आन्तरिक तयारीमा छ’, उनले भने ।
उनले असार १५ गतेबाटै १० हजार जनाको पिसिआर परीक्षण गर्ने प्रतिवद्धता गरेका थिए । उनले देशभर ३३ वटा प्रयोगशाला पुर्याएर दैनिक १० हजार जनाको परीक्षण गरिने जनाए ।
नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले ७ वटा भेन्टिलेटर, ग्लोब्स २० हजार थान, बुट ४ सय ५० थान, स्यानिटाइजर २ सय ५० वटा, सोडियम हाइड्रोक्लोराइड ५ लिटरको ४ सय ५० ग्यालेन, गगल्स ३ सय थान, सर्जिकल मास्क १ हजार १ सय ५० थान, डिस्पोजेबल कभर ५ सय ५० थान र साबुन १५ हजार पिस सहयोग स्वरुप उपलब्ध गराएको हो ।




प्रतिक्रिया