डडेल्धुरा – नेपाल सरकारका स्वास्थ्य तथा जनङ्ख्यामन्त्री भानुभक्त ढकालले सङ्घीय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री ढकालले डाक्टरहरु दुर्गम आउन नमान्ने प्रवृत्तिले अभाव भएको बताएका छन् । लामो समयसम्म डाक्टर अभाव रहेको अस्पतालमा अब क्रमिकरुपमा डाक्टरको पदपूर्ति हुँदै जाने उनको दाबी छ । उनले भने, ‘डडेल्धुरा अस्पतालको जिम्मा सङ्घले लिएको छ, यद्यपि केही अभावहरु कायम छन्, यो मन्त्रालय हामीले समालेपछि व्यवस्थापन गर्दै जान्छौँ, यी हिजोका अभाव अब हट्दै जान्छन् ।’
अध्ययन बिदामा कडाइ
डाक्टरहरु केन्द्रले पठाउने र अध्ययन बिदामा बस्ने समस्या देशभरको रहेको उहाँले बताउनुभयो । अध्ययन बिदामा अब कडाइ गरिने उनको भनाइ थियो । उनले भने, ‘हाम्रा डाक्टर सापहरुको अधिकांश समय पढाइमा जान्छ, छ महिना काम गर्ने फेरी पढ्न जाने फेरी अर्को चरण सेवा ग¥यो फेरी पढ्न जाने रहेछ, अब स्वास्थ्य मन्त्रालयले अध्ययन बिदालाई पनि कडाइ गर्छ ।’
मन्त्री ढकालले अस्पतालको विकास समितिहरुले छिटै पूर्णता पाउने बताए । विगत लामो सयमसम्म डाक्टर अभाव झेल्दै आएको सुदूरपश्चिम प्रदेशको एकमात्र विशिष्ट विशेषज्ञ अस्पताल डडेल्धुरा अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि एक जना पनि पदपूर्ति नभएको अस्पतालले जनाएको छ ।
अस्पतालले विगत लामो समयदेखि दरबन्दीअनुसारका चिकित्सक पाएको छैन । अस्पतालले ११औँ तहको मेडिकल सुपरिटेण्डेन्टसमेत पाएको छैन । तत्कालीन जिल्ला अस्पताल व्यवस्थापन समिति भङ्ग भएपछि हालसम्म उपक्षेत्रीय अस्पताल तथा हालको विशेषज्ञ अस्पतालको विकास समितिसमेत गठन हुन सकेको छैन ।
बीस जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले छात्रवृत्ति करारबाट एक जना र अस्पताल विकास समितिबाट दुई गरी करारमा तीन विशेषज्ञ चिकित्सक छन् । त्यस्तै १९ मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा नौ चिकित्सक रहे पनि पाँच जना अध्ययन बिदामा छन् । चार जनामात्र अस्पतालमा कार्यरत छन् ।
स्वास्थ्य मन्त्रालयले पठाएका ११ स्थायी र तीन करार गरी १४ चिकित्सकमध्ये तीन मात्र डडेल्धुरा अस्पतालमा पुगेका छन् । बाँकी ११ जना अहिलेसम्म अस्पतालमा पुगेका छैनन् । मन्त्रालयले पठाएका सात चिकित्सक अध्ययन बिदामा छन् भने एक जना सङ्घीय सरकारबाट प्रदेश मातहतको बाजुरा जिल्ला अस्पतालमा काज सरुवा भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए ।




प्रतिक्रिया