भारतमा ‘राम-राम’ भनेर विद्यार्थीले गरेको अभिवादन नफर्काउँदा शिक्षक निलम्बित


एजेन्सी- भारतकाे पश्चिम उत्तर प्रदेशको हाथरस जिल्लाको एक निजी विद्यालयमा एक विद्यार्थीले गरेकाे राम-राम अभिवादनको जवाफ नदिएकोमा विवाद भएपछि शिक्षक मोहम्मद अदनानलाई निलम्बन गरिएको छ ।

जिल्ला प्रशासनले घटनाको छानबिन गर्न समिति गठन गरेको र विद्यालयले सम्बन्धित शिक्षक मोहम्मद अदनानलाई निलम्बन गरेको जिल्ला प्रशासनले जनाएको छ ।

विद्यालय व्यवस्थापनले धर्मका आधारमा विद्यार्थीमाथि भेदभाव गरेको आरोपलाई कडाइका साथ अस्वीकार गरेको छ । तर, प्रधानाध्यापक सलमान किदवई विवादपछि सम्बन्धित शिक्षकलाई हटाएको बताउँछन् ।

शनिबार सीमा मन्सुर पब्लिक स्कुल बाहिर हिन्दू संगठनले जम्मा भएर हनुमान चालिसा वाचन गरेका थिए । विद्यालय बाहिर जय श्रीरामको नारा समेत लगाइएको थियो । प्रदर्शनमा बजरंग दलका स्थानीय कार्यकर्ताको समेत सहभागिता रहेको थियो ।

एक हिन्दु कार्यकर्ताले  भने, “एक बच्चाले शिक्षकलाई राम-राम भनेका थिए, शिक्षकले त्यसको जवाफ दिएनन् र गाली गरे, त्यसैले हामी विरोध गरिरहेका छौं।”

हातरसका एसडीएम सदर रविन्द्र कुमार सिंहले घटनाको बारेमा भने, “प्रिन्सिपलले घटनाका लागि माफी मागेका छन् र भविष्यमा यस्तो भेदभाव नगर्ने र बच्चाहरूले खुला हृदयले पढ्ने कुरा लिखित रूपमा दिएका छन्। अन्य घटनाक्रम जे भए पनि समितिले छानबिन गर्नेछ ।

जिल्ला अधिकारीले जिल्लाका आधारभूत शिक्षा अधिकारी समेत रहेको समिति गठन गरेका छन् । छानबिन प्रतिवेदन आएपछि आवश्यक कारबाही गरिनेछ । विद्यालय व्यवस्थापनले सम्बन्धित शिक्षकलाई पनि हटाएको छ ।”

बजरंग दलसँग सम्बद्ध एक हिन्दू कार्यकर्ताले भने, “अदनान नामका एक शिक्षक छन्, जसलाई भगवान रामको नाम लिन समस्या छ । शिक्षकलाई तत्काल निष्कासन गरी धार्मिक भावनामा ठेस पुर्‍याएको आरोपमा मुद्दा चलाइयोस् भन्ने हाम्रो माग छ ।“

हिन्दू संगठनले शिक्षकविरुद्ध स्थानीय प्रहरी चौकीमा उजुरी पनि दिएका छन् । विद्यालय व्यवस्थापनले यी आरोपलाई ठाडै अस्वीकार गरेको छ । विद्यालयका प्रधानाध्यापक सलमान किदवईले भने, “यो पूर्णतया आधारहीन छ, यहाँ सबै बालबालिकालाई राम-राम, नमस्ते, शुभ प्रभात वा सलाम भन्ने पूर्ण स्वतन्त्रता छ। बच्चाहरू पनि तिलक लगाएर स्कुल आउँछन्।” शिक्षक मोहम्मद अदनानले यस सम्पूर्ण घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस
Advertisement