राम्रो आम्दानी हुने भएपछि कागती खेतीमा आकर्षण

राम्रो आम्दानी हुने भएपछि कागती खेतीमा आकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप – राम्रो आम्दानी हुन लागेपछि रामेछापका कृषकहरू कागती खेतीतर्फ आकर्षित भएका छन् ।

अमिलो जातको फल कागतीको बजारमा उच्च माग र राम्रो मूल्य भएपछि किसानहरू त्यसतर्फ आकर्षित भएका हुन् ।

एकपटक लगाएपछि वर्षाैंसम्म फल दिने र बजारको राम्रो सम्भावना भएपछि अन्य फलफूल र खेतीभन्दा कागतीको खेती राम्रो भएको मन्थली नगरपालिका–५ सुनारपानीका भरत कार्की बताउँछन् । जंगली जनावरले दु:ख पनि नदिने, एकपटक लगाएपछि सामान्य गोडमेल र मल दिँदा हुने भएकाले कागती खेती लगाएको उनले बताए ।

बाँदरले दु:ख दिएर अन्य बाली लगाएर खान नदिने जमिनमा समेत कागतीको राम्रो खेती गर्न सकिने कार्कीले बताए । कागतीको बोटमा काँडा हुने र यसको फल पनि अमिलो हुने भएको बाँदरले नचलाउने उनले जानकारी दिए ।

भरतले आफ्नो २० रोपनी बारीमा १ हजार बोट कागती लगाएका छन् । धेरै पानी पनि आवश्यक नपर्ने भिरालो जमिनमा समेत लगाउन सकिने कागती खेतीबाट वार्षिक ६ लाख रुपैयाँ बढी आम्दानी हुने उनले बताए ।

सिजनको बेलामा पनि कागती १०० रुपैयाँ किलोमा बिक्री हुने उनले बताए । राम्रो भाउ आउँदा २५० रुपैयाँ किलोसम्म कागती बिक्री हुने उनले जानकारी दिए । ‘यो टिप्ने बित्तिकै अन्य फलफूल, तरकारी जस्तो बिग्रिँदैन, बजारमा बिक्री भएन भने पनि रस, अमिलो बनाएर वा अचार बनाएर पनि बिक्री गर्न सकिन्छ, त्यसमाथि यसको बजारमा सधैंभरि माग हुन्छ,’ कार्कीले भने ।