काठमाण्डु- भारतको उत्तर प्रदेशमा बुधबार राति आएको भीषण हावाहुरी, वर्षा र असिनापानीका कारण ठूलो जनधनको क्षति भएको छ।
राज्य आपद व्यवस्थापन तथा राहत कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार विपत्तिमा परी हालसम्म ८९ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन्। प्राकृतिक विपत्तिका कारण ८७ वटा घरमा क्षति पुगेको छ भने ११४ वटा पशुचौपाया मरेका छन्।
भारतीय सञ्चार माध्यमहरूका अनुसार हावाहुरीका कारण विभिन्न स्थानमा रुख तथा ठूला होर्डिङ बोर्डहरू उखेलिएका छन्। गुडिरहेका सवारीसाधनमाथि रुख ढल्दा तथा घरका पर्खाल भत्किँदा मानवीय क्षति बढी भएको जनाइएको छ। सडक किनारमा रहेका काठका पसलहरूमा समेत धुलो र मलबाका कारण व्यापक क्षति पुगेको छ।
उत्तर प्रदेशका राहत आयुक्तको आधिकारिक एक्स (पूर्व ट्विटर) ह्यान्डलमार्फत जारी बयानअनुसार मुख्यमन्त्री योगी आदित्यनाथले घटनालाई गम्भीर रूपमा लिँदै तत्काल उद्धार तथा राहत कार्य तीव्र बनाउन निर्देशन दिएका छन्।
राहत आयुक्तको कार्यालयका अनुसार मुख्यमन्त्री आदित्यनाथले मे १३ मा आएको खराब मौसमबाट भएको जनधनको क्षतिबारे जानकारी लिँदै सबै मण्डलायुक्त र जिल्लाधिकारीलाई आगामी २४ घण्टाभित्र प्रभावित परिवारलाई राहत रकम वितरण गर्न निर्देशन दिएका हुन्।
हाल प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले क्षतिको विस्तृत विवरण संकलन गर्नुका साथै राहत सामग्री वितरण कार्यलाई तीव्रता दिएको जनाएको छ।




प्रतिक्रिया