भारत-पाकिस्तान युद्धमा चलेको ‘मिडिया वार’

भारत-पाकिस्तान युद्धमा चलेको ‘मिडिया वार’

पत्याउनै नसक्ने खालका सूचना सम्प्रेषण हुँदा भारत र पाकिस्तानका नागरिक सहि सूचनाबाट बञ्चित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत प्रसाशित कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमण पश्चत् सुरु भएको भारत–पाकिस्तान युद्ध चौथो दिनमा आएर युद्धविरामा भएको छ ।

बुधबार बिहानबाट एकअर्का देशमा सुरु भएको मिसाइल र ड्रोन हमला शनिबार साँझ ५ बजे बन्द भएको छ । सोही दिन दुवै देश अमेरिकाको पहलमा भएको युद्धविराममा राजी भएका हुन् ।

तर चार दिनसम्म चलेको युद्धलाई दुवै देशका मिडियाबाट सम्प्रेसित समाचार र जानकारीले युद्धको भयावहतालाई पनि मात दिएको छ ।

पाकिस्तान र भारत दुवैतर्फका मिडिया र सामाजिक सञ्जालहरूले गलत र नक्क्ली भिडियो फुटेज पोस्ट गरेर द्वन्द्वलाई प्रोत्साहन गरेको देखिएको छ

भारत र पाकिस्तानले युद्धका क्रममा एक अर्काको देशमा गरेको आक्रमणलाई अधिकांश मिडियाले चर्काएको र वास्तविकता भन्दा पर गलत जानकारी फैलाउने काम गरेको पाइएको हो ।

भारतमा आक्रमण भएका कुरा पाकिस्तानी मिडियाले भन्थे भने पाकिस्तानमा आक्रमण भएको कुरा भारतीय मिडियाले।

समाचारको कुनै सत्य तथ्य श्रोत हुँदैनथ्यो। कहिले कराची कब्जामा भन्ने समाचार आउँथ्यो तर कहिले पन्जाब ध्वस्त भन्ने खबर आउँथ्यो ।

२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफस्वरूप भारतले सञ्चालन गरेको ‘अप्रेशन सिन्दूर’ को क्रममा पाकिस्तानबाट सञ्चालित सामाजिक सञ्जाल खाताहरूले गलत जानकारी फैलाउने अभियान चलाएका थिए ।

भारतको प्रेस सूचना कार्यालय (पीआएपी) को तथ्य–जाँच शाखाले यस्ता गलत जानकारीहरू प्रकाशमा ल्याएको छ ।

पीआइबीको तथ्य–जाँच इकाइले पाकिस्तानको पक्षमा बनाइएका ७ वटा गलत दावीहरूलाई खारेज गरेको छ ।

एउटा भिडियोले भारतको जालन्धरमा ड्रोन आक्रमण भएको भन्दै हल्ला फैलाइएको थियो तर त्यो एक कृषि क्षेत्रको आगलागीको पुरानो भिडियो भएको पुष्टि भयो ।

एक पुरानो भिडियो प्रयोग गरेर पाकिस्तानले भारतमा मिसाइल आक्रमण गरेको भनिएको थियो । तर तथ्य जाँचमा सन् २०२० मा लेबनानमा भएको विस्फोटको फुटेज भएको प्रमाणित भयो ।

जम्मु कश्मीरको राजौरीमा सेनाको ब्रिगेडमा ‘फिदायिन’ आक्रमण भएको भनियो, जुन पूर्णतः झुटो थियो । यस्तो कुनै आक्रमण नभएको पुष्टि गरिएको छ ।

यस्तै भारतको अम्बाला एयरबेसबारे पनि पाकिस्तानमा आधारहीन दाबीहरू गरियो । अम्बाला एयरबेस प्रयोग गरेर भारतले अमृतसरमा आफ्नै नागरिकमाथि आक्रमण गरेको भनिएको थियो । यो दाबी पनि तथ्य–जाँचमा खारेज भयो ।

यस्तै अवस्था भारतीय मिडियाहरूमा पनि देखिएको छ । मूलधारकै भनिने अधिकांश भारतीय टेलिभिजनबाट ‘इन्फर्मेसन’भन्दा बढी ‘मिसइन्फर्मेसन’ प्रसारित भयो । ‘फेक न्युज’ लाई सबै भारतीय मिडियाले महत्व दिए ।

‘पाकिस्तान पर फाइनल हमला सुरु’, ‘पाकिस्तान की राजधानी इस्लामाबाद पर कब्जा’, ‘पाकिस्तानके नेता बंकर खोज रहें हैं’ ‘आधा पाकिस्तान तबाह’, ‘जम्मू एयरपोर्ट से उडें भारत के फाइटर प्लेन’, ‘पाकिस्तान में घुसी भारतीय सेना’ जस्ता शीर्षक भारतको टेलिभिजन च्यानलहरूबाट प्रसारित भएको हो । समाचारका यस्ता शीर्षकले दुई छिमेकी देशबीचको शत्रुता गति गहिरोसम्म छ भन्ने पनि देखाउँछ ।

पत्याउनै नसक्ने खालका सूचना सम्प्रेषण गरेर दुवै देशका मिडियाले झुट फैलाउँदा भारत र पाकिस्तानका नागरिक सहि सूचनाबाट बञ्चित भए ।

भ्रामक र गलत सूचना तथा समाचार दिएर मिडियाहरू अतिराष्ट्रवादी देखाउन त खोजे तर त्यहाँ सहि सूचनालाई मुख्यस्थान दिनुपर्छ भन्ने जिम्मेबारीबाट च्यूत भए ।

मूलधारकै मिडियाले भ्रामक र नाटकीय समाचार प्रसारण गरिरहँदा अन्य मिडियाहरूले के गरेका होलान् ?

द्वन्द्वमा चलेको मिडिया वारका कारण भारत सरकारले ८ हजारभन्दा बढी एक्स एकाउन्ट ब्लक गरे भने ‘द वायर’लाई पनि प्रतिबन्ध लगाइयो ।