काठमाण्डु – नेकपा माओवादी मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मधेस प्रदेशमा माओवादीका दुई तिहाइ प्रदेश सभा सदस्यहरूले साहलाई पदबाट हटाउन अविश्वास प्रस्ताव उपनेता समिर भट्टराई समक्ष पेश गरेका छन्।
दलको नेतृत्वको विषयमा आफूहरूको विश्वास गुमेको भन्दै ९ सदस्यीय संसदीस्य दलका ६ सांसदले भट्टराईसमक्ष अविश्वासको प्रस्ताव पेश गरेका हुन् । प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेस गरेका हुन् ।
सांसदहरूले साहविरुद्ध अर्थमन्त्री हुँदा बजेट बनाउने क्रममा अनियमितता गरेको, गुटबन्दी गर्दै एकलौटी गरेको आरोप लगाएका छन् ।
दलको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि दलको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने माओवादी संसदीय दलको विधानमा उल्लेख व्यवस्था अनुरुप आफूहरूले अविश्वासको प्रस्ताव पेस गरेको सांसदहरूले बताए ।
लिखित सूचना प्राप्त भएपछि उपनेता भट्टराईले विधान अनुसार १५ दिनभित्र बैठक बोलाउन प्रमुख सचेतक महतोलाई निर्देशन दिएका छन्।
उपमहासचिव मातृकाप्रसाद यादव निकट साहमाथि अरूलाई अवसर नदिई पटक पटक आफू मात्र मन्त्री बनेको भन्दै लामो समयदेखि संसदीय दलमा असन्तुष्टि छ।
प्रतिक्रिया