काठमाण्डु –पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीकी पुत्री लीमा अधिकारी सक्रिय राजनीतिमा आउने भएकी छन् । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरको महासचिव समेत रहेकी लीमाले नेकपा एकीकिृत समाजवादीबाट राजनीति गर्ने भएकी हुन् ।
माधव नेपाल नेतृत्वको नेकपा एसले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ । लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवामा सक्रिय थिइन् ।
आफ्नो परिवारले राजनीतिमार्फत गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको उनको भनाई छ ।
उनले एमालेको ९ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैं बनाऔं, महिलाका नाममा घरजग्गाको स्वामित्व जस्ता एजेण्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको बताइन् ।
उनले भनिन्, ‘मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले राजनीतिमा हामीजस्ता युवाहरूको आवश्यकता छ भन्ने बुझेर सक्रिय राजनीति गर्ने सोच बनाएकी हुँ ।’
राजनीतिमा थुप्रिएको फोहोर सफा गर्न ‘मुलुकबाट लिने नभई दिने’ उद्देश्यसहित आफू राजनीतिमा सक्रिय हुने उनको भनाइ छ ।




प्रतिक्रिया