पूर्वपश्चिम रेलमार्गको भरतपुर महानगर खण्डमा नयाँ रुट अध्ययन गरिने

पूर्वपश्चिम रेलमार्गको भरतपुर महानगर खण्डमा नयाँ रुट अध्ययन गरिने


चितवन – स्थानीयको चर्को विरोधपछि स्थगित भएको पूर्वपश्चिम रेलमार्गको भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने भएको छ ।

अध्ययनका लागि रेल विभागको महानिर्देशक रोहितकुमार बिसुराल सहितको प्राविधि टोली बुधबार भरतपुर आइपुगेको छ ।

पुस २८ गते भरतपुर महानगरपालिकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको उपस्थितिमा चितवनका सरोकारवालासँगको बैठकले वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्वपश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने निष्कर्ष निकालेको थियो ।

विकल्पमा प्रस्तुत गरिएको २ रुट टिकौली हुँदै आँपटारी र राप्ती तटीय क्षेत्र हुँदै गोलाघाट जोड्ने भनिएको रुटको टोलीले स्थलगत अध्ययन गर्ने जनाएको छ ।

अध्ययन पूर्व भरतपुर महानगरपालिका सभाहलमा सरोकारवालासँग भएको छलफलले अबको नयाँ रुट निर्माण गर्दा भरतपुर महानगरपालिकाका प्राविधिसहित कम बस्ती भएको स्थान र कम क्षति हुने गरी पूर्वपश्चिम रेलमार्गको रुट भरतपुरमा निर्माण गर्न सुझाव दिएका छन् ।

अध्ययन गर्ने टोलीले भरतपुरका राजनैतिक दल, विज्ञ, स्थानीय सरोकारवालासँगको समवन्यमा रुटको कार्यलाई अगाडि बढाउने छ ।

छलफल कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पुराना अल्टरनेटिभ ५ वटा रुटमा रेल मार्ग निर्माण गर्न नसकिने उल्लेख गरिन् ।

भरतपुर महानगरपालिकाको शहरी सौन्र्यकरणलाई बिगार्ने गरी रेल मार्ग निर्माण गर्दा अहिले भइरहेको विकास आयोजनामा ठूलो क्षति पुग्ने बताइन् । १४ वर्षअघि तयार पारिएको योजना प्रतिवेदन भरतपुरमा अहिले कत्ति पनि मेल नखाने भएकाले खाली र जनतालाई क्षति नपुग्ने गरी काम अगाडि बढाउन रेल विभागका कर्मचारीलाई अनुरोध गरिन् ।

कार्यक्रममा उपस्थिति अधिकांश सरोकारवालाले प्रमुख दाहालको भनाइलाई सर्मथन गर्दै नयाँ रुट भरतपुरको लागि अभिसाप होइन, बरदान हुने गरी निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।