भरतपुरमा मतदाता प्रभावित पार्न प्रचण्ड सक्रिय, आर्थिक चलखेल गरेको खुलासा

भरतपुरमा मतदाता प्रभावित पार्न प्रचण्ड सक्रिय, आर्थिक चलखेल गरेको खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय तहको निर्वाचन भोलि शुक्रबार हुँदैछ । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा कर्मचारी खटाइसकेको छ, सुरक्षाकर्मी पनि परिचालन भइसकेका छन् । मतदानका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् ।

प्रचण्ड मतदानको दिनभन्दा दुई दिन अगाडि नै चितवन आएर बसेका हुन् । मौन अवधिमा मतदाता प्रभावित पार्न उनी सक्रिय भएका छन् । उनले मौन अवधिमा चितवन पुगेर सरकारी गाडीको दुरुपयोग गरी मतदाता प्रभावित पार्ने र आर्थिक चलखेल गर्दै आफ्नी छोरी रेणु दाहालको पक्षमा मत माग्दै हिडेको पाइएको छ ।

प्रचण्डले आज माडीको होटल प्याराडाइजमा पुगेर मत मागेका हुन् । भरतपुरका मतदाता रहेका प्रचण्ड माडीमा पार्टीको उम्मेदवार जिताउन मत माग्दै हिँडेको स्थानीयले बताएका छन् । स्रोतका अनुसार माडीमा पार्टीभित्र ठूलो असन्तुष्टि देखिएपछि प्रचण्डले माडी पुगेर असन्तुष्ट पक्षसँग पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् । उनले होटल प्याराडाइजमा कडा सुरक्षाकाबीच २५/२५ जनाको समूहमा बोलाएर मत मागेको बताईएको छ ।

प्रहरीको स्कर्टिङ सहित माडी पुगेका प्रचण्डको होटलमा कार्यक्रम भईरहँदा होटल बाहिर कडा सुरक्षा दिईएको थियो । प्रचण्ड केहीबेर माडी बसेर भरतपुर फर्किएका छन् । यसअघि बुधबार छोरी रेणुको निवासमा प्रचण्ड बसेका बेला सरकारी र निजी गाडीको लावालस्कर लागेको थियो । त्यस्तै प्रचण्डलगायत बहालवाला मन्त्रीहरूले नै निर्वाचन आचारसंहिताको चरम उल्लंघन गरेका छन् ।

प्रचण्ड, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठलगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको प्रवाह नै नगरी सरकारी सवारीसाधनको दुरुपयोग गर्दै भरतपुर महानगरपालिका र माडी नगरपालिकाका मतदाताको घरघरमा पुगी प्रभावमा पार्ने काम गरेका हुन्।

मतदाता प्रभावित पार्न मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले महानगरपालिकाभित्र आर्थिक चलखेल समेत गरेकाे पाइएकाे छ । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै राज्य पक्षबाट भएको यस्ता कार्यले निर्वाचन निष्पक्ष हुनेमा शंका उत्पन्न भएको बताएका छन् ।  आचारसंहिताको गम्भीर उल्लंघन गर्ने माओवादी केन्द्र र कांग्रेसका भरतपुर र माडीका उम्मेदवारको उम्मेदवारी रद्द गर्नसमेत उनले माग गरेका छन् ।