०७४ को चुनावमा माओवादीले मतपत्र च्यातेको भरतपुरमा एमाले विजयी

०७४ को चुनावमा माओवादीले मतपत्र च्यातेको भरतपुरमा एमाले विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अघिल्लोपटक धाँधली भएको भन्दै माओवादीले मतपत्र च्यातेको भरतपुर–१९ को वडाअध्यक्षमा एमालेका उम्मेदवार प्रकाश तामाङ विजयी भएका हुन् । मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल निरन्तर अगाडि बढिरहँदा यो वडामा गठबन्धनका वडाध्यक्षका उम्मेदवार भने हारेका हुन् ।

कांग्रेसका द्रोणबहादुर गुरुङलाई हराउँदै एमालेको तामाङ विजयी भएका हुन् । जबकि यो वडालाई कांग्रेसको पकड क्षेत्र मानिन्छ । यो वडामा अहिले ३ हजार ४ सय ८८ मत खसेको थियो ।

अघिल्लो स्थानीय चुनावमा यो वडाको मतगणना गर्दैगर्दा मतपत्र च्यातिएपछि पुनः चुनाव गरेर मतपरिणाम आउँदा नेपाली कांग्रेसका कर्णबहादुर गुरुङ १ हजार ४ सय ७८ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला एमालेकै प्रकाश तामाङले १ हजार ९७ मत ल्याएर हारेका थिए ।

भरतपुर महानगरको वडा नम्बर १९ को मतगणनाका क्रममा जेठ १४ गते मध्यरातमा माओवादीका गणक प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेका थिए ।