काठमाण्डु – सत्तारुढ पाँच दलीय गठबन्धनले भरतपुर महानगरमा वडा तहसम्म भागबन्डा टुंगो लगाएको छ । कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष लिएको छ भने २६ नम्बर वडामा भागबन्डा मिलाउन बाँकी छ ।
सहमतिअनुसार कांग्रेसले १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडा आफ्नो भागमा लिएको छ भने ११, १३, २४, २५,२८ नम्बर वडा पुष्पकमल दाहाल प्रचण्ड नेृतृत्वको नेकपा माओवादी केन्द्रलेले पाएको छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ९, १२ र २२ नम्बर वडा लिने गरी सहमति भएको छ । पाँच दलको गठबन्धनका जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायतले कुनै पनि वडा भागबन्डामा नपाए पनि २६ नम्बर वडाको भागबन्डा भने टुंग्याउन बाँकी छ ।
निर्वाचन आयोगले ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता गर्ने समयावधि तोकेको छ ।
भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले उमेदवारी दिने भएकी छन् । उपमेयरमा कांग्रेस भरतपुर महानगर समितिका सभापति चित्रसेन अधिकारीको चर्चा छ ।
कांग्रेसले रत्ननगर, खैरहनी, कालिका र इच्छाकामनाको प्रमुखमा उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा सहमति भएको कांग्रेसका उपसभापति राजीव न्यौपानेले बताए । माओवादी केन्द्रले माडी र नेकपा (एकिकृत समाजवादी)ले राप्तीको प्रमुखमा उमेदवार उठाउने सहमति भएको छ ।
त्यस्तै, कांग्रेसले राप्ती र माडी, समाजवादीले रत्ननगर र माओवादीले खैरहनी, कालिका र इच्छाकामनाको उपप्रमुखको पदमा उमेदवार उठाउने छ । सात पालिकाका ९८ वटा वडामध्ये कांग्रेसले ५९ वटा वडा पाएको न्यौपानेले बताए ।
भरतपुर महानगरका २९ वडामध्ये कांग्रेसले मात्रै २० वडा पाउने सहमति भएको उनले बताए । महानगरको प्रमुखमा भने कांग्रेसका असन्तुष्ट नेता कार्यकर्ताहरुले आज स्वतन्त्र उमेदवारी दिने तयारी गरेका छन् ।




प्रतिक्रिया