चितवन– भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले डेंगुको परीक्षणका लागि सरकारी अस्पतालमा किटको अभाव हुन नदिने बताएकी छन् । भरतपुर अस्पतालमा गत शुक्रबारदेखि किटको अभावले डेंगुको परीक्षण रोकिएको समाचार सार्वजनिक भएपछि दाहालको यस्तो भनाई आएको हो ।
महानगरप्रमुख दाहालले डेंगु परीक्षणका लागि आवश्यक पर्ने किट सरकारी अस्पतालमा उपलब्ध गराइने बताईन् । भरतपुर अस्पतालले किटको अभाव भएको भन्दै आइतबार महानगरपालिकालाई पत्राचार गरेपछि दाहालले किट उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरिन् ।
अस्पतालको आग्रहपछि महानगरले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुलाई पत्राचार गर्दै तत्काल एक हजार र केही दिनमा नै थप चार हजार किट उपलब्ध गराइदिन आग्रह गरेको छ ।
डेंगु परीक्षण निःशुल्क हुने भएपनि अस्पतालसँग किट खरिद गर्ने अधिकार र बजेट नहुने भएकालेसेवा रोकिएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले अस्पतालमा किट नहुँदा बिरामीलाई निजी अस्पतालमा सिफारीश गर्न बाध्य भएको बताए । सरकारी अस्पतालमा पांच सय पर्ने किट निजी अस्पतालमा परीक्षण गर्दा दुई हजार पर्ने भएकाले बिरामीले मार खेप्नु परेको छ ।
चितवनमा ५३७ जनालाई डेंगुको संक्रमण देखिएको छ। डेङ्गु र स्क्रबटाइफसका कारण तीन जनाको मृत्यु भइसकेको छ । जिल्लाको भरतपुर महानगरको शहरी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढिरहेको छ ।
रोगले महामारीको रुप लिन सक्ने भन्दै शनिबार बिहान सचेतनामूलक ¥यालीको आयोजना गरेको महानगरले रोग परीक्षण सहज बनाउनका लागी पहल समेत थालेको हो । मेयर दाहालले सबै वडामा सचेतनामूलक कार्यक्रम गर्न निर्देशन दिइएको जानकारी समेत दिईन ।




प्रतिक्रिया