भरतपुरमा आजदेखि हर्न निषेध


भरतपुर – भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको व्यवस्थापन गर्ने भएको छ । बढ्दो सहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको हो ।

एक साताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न विभिन्न निर्णय गरी आजदेखि कार्यान्वयनमा ल्याउने समझदारीसहित निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार पूर्वबाट काठमाडौँ-पोखरा जाने यात्रुवाहक बस, मिनी बस, माइक्रोलगायतका भाडाको सवारी साधनको पिक एण्ड ड्रप केन्द्रीय बसपार्कबाट बाइपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनुपर्नेछ ।

पूर्वबाट पश्चिम बुटवल, धनगढी, महेन्द्रनगरसम्म जाने यात्रुवाहक सवारीको यात्रु पिक एण्ड ड्रप केन्द्रीय बसपार्कमा गरी चौबिसकोठी, लाइन्सचोक हुँदै पुलचोकबाट बाहिरिने व्यवस्था गरिएको छ ।

पश्चिम जाने यात्रुवाहक सवारी साधनले केन्द्रीय बर्स पार्कबाट पिक एण्ड ड्रप गरी जानुपर्ने नियम बनाइएको छ । यस्तै भरतपुर महानगरपालिका क्षेत्रको रिङरोडमा चल्ने म्याजिकको क्यु लिने र पार्किङ गर्ने स्थल नारायणगढ बसपार्क हुनेछ ।

भरतपुरबाट टाँडी, पर्सा, भण्डरा, लोथरसम्म जाने यात्रुवाहक बस र म्याजिकले क्यु लिने र पार्किङ केन्द्रीय बसपार्कमा गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

नारायणगढ बजारको पुलचोकबाट पोखरा बसपार्कतर्फ जाने ट्रक र लामो दूरीका बस प्रवेशमा निषेध गरिएको छ । यस्तै काठमाडौं पोखराबाट पूर्व वा पश्चिमतर्फ जाने यात्रुवाहक सवारी साधन ट्रक, लहरी, टिपरजस्ता मालबाहक सवारी साधनलाई आँपटारीबाट नारायणघाट बजारतर्फ जान निषेध गरिएको छ ।

महानगरको गोन्द्राङदेखि पुलचोक आँपटारीसम्मको बजार क्षेत्रमा हर्न बजाउन निषेध गरिएको छ । यस्तै नारायणगढ तथा भरतपुरमा रहेका राजमार्गको पेटी तथा सडकको दायाँबायाँ भागमा निजी तथा भाडाका सवारी साधनलाई पार्किङमा निषेध गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले सुन्दर र सुसंस्कृत भरतपुर महानगरको परिकल्पना अनुसार सवारी साधनलाई व्यवस्थापन गर्न लागिएको बताए । बाहिर छरिएर राखिने सवारी साधनका कारण सहरको सौन्दर्य बिग्रेका र आवागमनसमेत प्रभावित भएका कारण बजार र पार्किङ व्यवस्थापनको काम गर्न लागिएको जानकारी दिए ।

उनले सबै सरोकारवालाको सहभागितामा कडाइका साथ पहिलो पटक निर्णय भएको भन्दै कार्यान्वयन हुनेमा ढुक्क रहेको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले आजदेखि ट्राफिक व्यवस्थापनको काम परिवर्तन हुने भन्दै दुई बसपार्क पूर्णरुपमा सञ्चालनमा आउने बताए ।

उनले पटक–पटक यातायात व्यवसायीसँग छलफल गरेर निर्णय कार्यान्वयनमा लैजान लागिएको भन्दै सबैलाई साथ दिन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement