भरतपुर महानगरपालिका नेपालकै पहिलो सडक मानवमुक्त घोषित

भरतपुर महानगरपालिका नेपालकै पहिलो सडक मानवमुक्त घोषित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिका सडकपेटीमा मानव बासमुक्त घोषित भएको छ । भरतपुर महानगरपालिका कार्यालयमा आज भएको एक कार्यक्रममा असहाय असहारा सहयोगापेक्षी मानव मुक्त घोषणा गरिएको हो ।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले घोषणापत्र बाचन गरी नेपालकै पहिलो ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा गरेका हुन् ।

मानवसेवा आश्रमको सहयोगमा महानगर, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा आज भरतपुरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा गरेका हुन् ।

कार्यक्रममा प्रतिवद्धता जाहेर गर्दै महानगर प्रमुख रेनु दाहालले घोषणासंगै यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताइन् । उनले यसलाई सार्थक बनाउन सबैको साथ र सहकार्यको आवश्यकता रहेको बताइन् ।

उनले चितवनमा सडक मानवको समस्या पहिचानका लागि स्क्रिनिङ सेन्टर निर्माण गर्ने समेत बताइन् । उनले हाललाई सडकमा भेटिएका सहयोगापेक्षीलाई मानव सेवा आश्रममा राख्ने र मानव सेवा आश्रमको घर भाडा महानगरले तिरिदिने बताइन् । उनले मानव सेवा आश्रमलाई महानगरले सवारी साधन दिने समेत बताइन् ।

सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श सेवा शुरू गरिएको थियो । यस क्रममा अहिलेसम्म ३०० जनालाई उद्धार गरिएको महानगरले जनाएको छ । उद्धार गरिएकामध्ये वास्तविक संरक्षण दिने खालका जम्मा १० जना भेटिएको र अन्य घर ठेगाना नखुलेका काम गर्न सक्ने रहेको अभियान सञ्चालन गर्दै आएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

घोषणा कार्यक्रममा मुख्यमन्त्री पौडेलले सडकमा वास बस्ने असहाय मानवलाई वास दिने काम सरकारको हुनुपर्ने बताए । एउटा सस्थाले सात वर्ष अगाडि सुरु गरेको यो अभियानलाई तीनै तहको सरकारले आत्मसाथ गरेकाले आउदा दिनमा मानव सेवा आश्रमलाई नै यो जिम्मा दिनु राम्रो नहुने बताए । मकवानपुर जिल्लाले जिल्ला घोषणा गरिसकेकाले आउँदा दिनमा अन्य जिल्लाका स्थानीय तह हुदै जिल्ला र देश घोषणा गर्नु पर्ने बताए ।

कार्यक्रममा विरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले मानवसेवा आश्रम निर्माणको लागि १२ कठ्ठा जग्गा दिएको जानकारी दिए । भरतपुर पछि वीरगञ्जलाई घोषणा गर्न आफू प्रतिवद्ध भएको जानकारी दिए । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेसका जिल्ला सचिव उत्तम जोशीलगायतले घोषणाको स्वागत गरेका थिए ।