काठमाण्डु – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आमरण अनसन तोडेका छन् ।
आईतबार काठमाण्डुको माइतीघर मण्डलामा मेयर भट्टराईले आमरण अनसन तोडेका हुन् ।
मेयर भट्टराईले साउन ११ गतेदेखि काठमाण्डुको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका थिए । सरकारसँग १६ बुँदे सहमति भएसँगै उनले आईतबार आमरण अनसन तोडेका छन् ।
भट्टराईले बाँसलाई बिल्डिङ कोडमा समावेश गरी सरकारी मूल्यांकन गर्न नीति बनाई स्थानीय सामग्री प्रयोग गर्नुपर्ने, बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवाहरूलाई स्वरोजगार बनाई आयआर्जनको गर्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने, बाँसले भू–क्षय नियन्त्रण, वातावरण संरक्षण, जलवायू प्रदुषणको नियन्त्रण, पर्यावरणीय संरक्षण तथा अत्याधिक कार्बन सञ्चिती गर्ने भएकाले यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने लगायत माग राख्दै आमरण अनसन शुरु गरेका थिए ।
आईतबार माइतीघरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमति पत्रमा निर्माण कार्यमा बाँसको प्रवर्द्धन गर्न शहरी विकास मन्त्रालयबाट बाँस भवन संहिता र नर्म्सलाई अन्तिम रूप दिई ४५ दिनभित्र स्वीकृत गरी लागू गरिने भनिएको छ ।
स्थानीय तहको अनुरोधमा सम्बन्धित क्षेत्रमा कार्यरत प्राविधिकलाई शहरी विकास मन्त्रालयले यसै आर्थिक वर्ष (२०८२/८३) देखि क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालन गर्ने, ग्रामीण अर्थतन्त्र र जीविकोपार्जन सुधारका लागि बहुउपयोगी बाँसको प्रवर्द्धन गर्न वन तथा वातावरण मन्त्रालयले सबै प्रदेश सरकार र स्थानीय तहहरूलाई अनुरोध गर्ने लगायतका विषयवस्तु सहमति पत्रमा समेटिएका छन् ।




प्रतिक्रिया