भेरी अस्पतालमा चिकित्सक कुटिएको घटनाबारे छानविन समितिले भन्योः मृतकका आफन्त आवेगमा आए

भेरी अस्पतालमा चिकित्सक कुटिएको घटनाबारे छानविन समितिले भन्योः मृतकका आफन्त आवेगमा आए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भेरी अस्पतालमा डाक्टर, नर्स कुटिएको घटनाबारे छानविन समितिले मृतकका आफन्त आवेगमा आएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

बाँकेस्थित नेपालगन्जको भेरी अस्पतालमा गत जेठ १३ गते डाक्टर र नर्समाथि भएको आक्रमण तथा अस्पताल तोडफोड घटनाबारे सत्यतथ्य बुझ्न छानविन समिति गठन गरिएको थियो । सो समितिले उक्त घटनालाई आवेगमा भएको संज्ञा दिँदै बुधबार बेलुका प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रतिवेदनमा घटना सुनियोजित नभई आफन्तको मृत्यु पश्चात तत्कालै आएको आवेगको कारण घटना घट्न गएको निश्कर्ष निकालिएको जानकारी दिए । उनले प्रतिवेदनमा घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गरिएको समेत जानकारी दिए ।

समितिले बुझाएको प्रतिवेदनमा विभिन्न २० बुँदेकमी कमजोरी औल्याउँदै २५ बुँदे सुझावसमेत दिएको छ । जसमा हस्पतालको सेवामा केहि कमी भएको र आन्तरिक व्यवस्थापनमा सुधार गर्नुपर्नेजस्ता बुँदा पनि समावेश छन् । कोरोना महामारीको यो विषम परिस्थितीमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको यो घटनालाई लिएर चौतर्फी विरोध भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेललगायतले घटनाका दोषीमाथि कारबाहीको माग गरेका थिए भने स्वास्थ्यकर्मीहरूले सुरक्षाको वातावरण हुनुपर्ने मागसहित प्रदर्शन गरेका थिए।