टान अध्यक्षमा त्रिपक्षीय भिडन्त

टान अध्यक्षमा त्रिपक्षीय भिडन्त


काठमाण्डु- पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को अध्यक्ष पदका लागि तीन व्यवसायी प्रतिस्पर्धी चुनावी दौडमा रहेका छन् ।

आगामी माघ २८ गतेका लागि तय गरिएको टानको ४३औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्षका तीनै जना प्रत्यासीले उम्मेदवारी घोषणा गरेर चुनावी प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिसकेका छन् । साथै उनीहरुले निर्वाचनमा माहोल आफ्नो पक्षमा पार्ट व्यावसायिक दौडधूप र छलफललाई तीव्रता दिएका छन् ।

टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा र बोधराज भण्डारी विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा जुटेका छन् । प्रत्यासीमध्ये बाँस्तोला टानका पूर्वउपाध्यक्ष हुन् भने भण्डारी र सापकोटाले टान कार्यसमितिमा रहेर काम गरि सकेका छन्। होटल तथा ट्रेकिङ्ग व्यवसायमा तीनै जना अब्बल गनिन्छन् ।

पर्यटन क्षेत्रमा लामो अनुभव भएकाले नेतृत्वका लागि तीनै जनालाई उपयुक्त उम्मेदवारका रुपमा हेरिएको छ । तीनै जना पर्यटनमा परिचित अनुहार भएकाले यस पटकको निर्वाचनमा पनि निकै रसाकस्सी हुने विश्लेषण गरिएको छ । टानको अध्यक्ष, पदाधिकारी र सदस्यगरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ ।

टान निर्वाचनका लागि मिति घोषणा भएसँगै आकाङ्क्षी उम्मेदवारले आफ्ना प्रतिबद्धतासहित चुनावी प्रतिस्पर्धामा लागेको टानका अध्यक्ष खुम सुवेदीले बताए । कोभिड महामारीको तेस्रो लहरको त्रास रहेकाले पूर्वनिर्धारित कार्यक्रम हुन्छ कि हुदैन यकिन भएको छैन । यद्यपि, निर्वाचनको माहोल बनाउन उम्मेदवार मैदानमा उत्रिसकेका छन् । टानमा करिब एक हजार ८०० व्यवसायी आबद्ध छन् ।