काठमाण्डु – नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले आफू पार्टी एकता जोगाउन मुख्यमन्त्री बनेको बताएका छन् ।
बिहीबार पदभार ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले पार्टी एकता जोगाउनका लागि चुनौतिकाबीच मुख्यमन्त्रीको जिम्मेवारी वहन गरेको बताए ।
उनले लोकतन्त्र र स्थायित्वको पक्षधर दलसँग छलफल गरि अघि बढ्ने बताए । मुख्यमन्त्री आचार्यले स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्दै आफ्नै पक्षमा बहुमत पुर्याउने बताए ।
‘लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्छौं । र, आफ्नै संख्या (बहुमत) पनि पुर्याउँछौं,’ उनले भने ।
विपक्षी भन्छ : एक महिने सरकार
विपक्षी दलले नवनियुक्त सरकार एक महिने भएको टिप्पणी गरेको छ । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले आचार्य नेतृत्वको सरकार एक महिनामा ढल्ने बताएको छ ।
नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य राजन राईले मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाउने दाबी गरे । सांसद राईले मुख्यमन्त्री आचार्य एक महिने मुख्यमन्त्री बनेको दाबी गरे ।
‘अहिलेसम्म १२ जना औपचारिक रुपमा आउनु भएको छ । केपी ओली पक्षका तीन जना आउने टुंगो लागि सकेको छ’, उनले भने, ‘उहाँ एक महिनाका लागि मुख्यमन्त्री बन्नुभएको हो ।’
प्रदेशसभा सदस्य राईले उनीहरुको नाम सार्वजनिक गर्न नमिल्ने बताए । उनले नेपाली कांग्रेस, माओवादी केन्द्रसँग नयाँ सरकार गठनका विषयमा सहमति भइसकेको बताए ।
यता माओवादी केन्द्रका प्रदेशसभा सदस्य रामकुमार राईले नाटकीय ढंगले नयाँ सरकार परिवर्तन भएको बताए । उनले मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार लामो समय नटिक्ने दाबी गरे ।
‘हिजो नयाँ पार्टी दर्ता हुँदैछ । शेरधन राईले आज राजीनामा दिएर भीम आचार्यको शपथ नाटकिय ढंगले गर्यो,’ सांसद राईले भने, ‘तर, विश्वासको मत लिँदा यो सरकार ढल्छ ।’




प्रतिक्रिया