काठमाण्डु – प्रदेश १ का मुख्मन्त्री भीम आचार्यले राजीनामा पत्र बुझाएका छन् । प्रदेशसभा बैठकमा सम्बोधनको क्रममा राजीनामाको घोषणा गरेका आचार्यले प्रदेश १ प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।
आज मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची थियो । तर, अंकगणितले मेल नखाएको भन्दै आचार्य मतदानअघि नै राजीनामा दिएका हुन् ।
शेरधन राईले राजीनामा दिएपछि आचार्य गत भदौ १० मा मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेको तत्कालीन माधव नेपाल समूहतिर रहेका आचार्य अन्तिम समयमा कित्ता परिवर्तन गर्दै मुख्यमन्त्री बनेका थिए ।
प्रदेश १ मा एमालेको एकल बहुमत भए पनि पार्टीमा विभाजन आएपछि आचार्यले ६८ दिनमै सरकार छाड्नु परेको हो । यता मुख्यमन्त्री आचार्यले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख प्यासीले मंगलबार १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार आचार्यको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश–१ मा यसअघि विपक्षी गठबन्धनमा रहेका दलको स्पष्ट बहुमत छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ । ५० जना सांसदको हस्ताक्षरसहित आजै प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने राजेन्द्र राईले बताए ।




प्रतिक्रिया