भीम रावल भन्छन् : उम्मेदवारी नदिएकाे पदमा सपथ लिन्न

भीम रावल भन्छन् : उम्मेदवारी नदिएकाे पदमा सपथ लिन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार भीम रावलले उम्मेदवारी  नै नदिएको पदमा सपथ नलिने घोषणा गरेका छन् ।

मंगलबार मतदान सम्पन्न भएपछि सौराहास्थित सेभेनस्टार होटल परिसरमा पत्रकारहरुसँग कुरा गर्दै रावलले निर्वाचन आयोगसँग आफूले अध्यक्ष बाहेक कुनै पनि पदमा उम्मेदवारी नदिएको भन्दै उक्त पदमा सपथसमेत नलिने प्रष्ट पारेका हुन् ।

‘भित्र गएर हेर्दा मेरो अर्को ठाउँमा पनि उम्मेदवारी रहेछ । मैले हाम्रो निर्वाचन आयोगसँग अध्यक्षको उम्मेदवार हुँ । त्यसबाहेक अरुमा मेरो कुनैमा हुँदैन भनेँ,’ रावलले भने, ‘जुनमा उम्मेदवारी दिएकै छैन त्यसमा कसरी मैले सपथ लिनु ?’

उनले आफ्नो धारणा अनुसार नै नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएकोप्रति खुसी व्यक्त गरेका छन् । ‘निर्वाचनमा जानुपर्छ भन्ने मेरो धारणा थियो । निर्वाचन सो धारणा अनुरूप नै भएको ठानेको छु’, रावलले भने ।

उनले मतदानका क्रममा आचारसंहिताविपरितको गतिविधि भएकोप्रति भने उनले असन्तुष्टि जनाए । रावलले समूहगत सूची वितरण गरिएको प्रति आफूले निर्वाचन आयोगलाई जानकारी गराएको र प्रहरीलाई पनि त्यस्तो गतिविधि हुन नदिन आग्रह गरेको रावलले बताए ।

‘मतदानका क्रममा केही कुराहरू भएका छन् दुई चारवटा, त्यसको मैले सार्वजनिक आलोचना गरेको छु । हाम्रो पार्टीको चुनावी आचार संहिताअनुसार समूहगत सूची बाँड्न नपाउने भन्ने थियो । त्यसबारे आयोग जानकारी र सुरक्षाकर्मीलाई भनेको थिएँ, तर त्यो कार्य बन्द भएन’, उनले भने, ‘विरोध गर्दा हातपातको प्रयास पनि भयो ।’