काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले सस्तो लोकप्रियताका लागि अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरेको आरोप लागेको छ ।
वाम विश्लेषक डम्बर खतिवडाले सामाजिक सञ्जालमार्फत केपी ओली नेतृत्वको मन्त्रिपरिषदले २०७३ असोज ३१ गते एमसीसीएलाई नेपालतर्फको १ अर्ब ३० करोड निकासा दिने निर्णय गर्दा रावल नै उपप्रधान तथा रक्षामन्त्री रहेको बताएका हुन् ।
यस आधारमा अहिले उनको विरोध ‘सस्तो लोकप्रियताका लागि पाखण्ड र बेइमानी’ भएको खतिवडाको आरोप छ । यता रावलले पनि खतिवडाको जवाफ दिएका छन् ।
‘डम्बर जी, तपाईंले भन्नुभएका मन्त्रिपरिषद्का बैठकमा मेरो उपस्थिति थियो कि थिएन, कम्प्याक्टबारे के कुरा वा निर्णय भएको थियो, फोनमा सोध्नुभएको भए भनिहाल्थें’, रावलले भनेका छन्, ‘ट्विटमा सोध्नुभएछ । म रहेको मन्त्रिपरिषद्को बैठकमा कम्प्याक्टबारे कुरा भएको थिएन । देश हित र स्वाधीनताको पक्षमा जहिले पनि उभिनुपर्छ ।’
प्रधानमन्त्री ओलीको २०७३ आषाढ ३१ गतेको मन्त्रिपरिषद् बैठकले एमसीसीएलाई नेपालतर्फको १ अर्ब ३० करोड निकासा दिने निर्णय गरेको थियो । केपी ओलीको सरकारमा नेता रावल उपप्रधानमन्त्री तथा रक्षामन्त्री थिए ।




प्रतिक्रिया