देउवा र प्रचण्डमाथि छानविन गरेर कारबाही गर्न भीम रावलको माग


काठमाण्डु – नेकपा एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि छनविन गर्न माग गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसी पारित गर्ने भनेर असोज १३ गते अमेरिकालाई लेखेको पत्रबारे संसदीय समितिले छानबिन गरेर कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

‘यो प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले संयुक्त रूपमा लेखेको पत्र हो । यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विषय बन्नुपर्छ । छानविन गरिनुपर्छ । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले यस्तो पत्र लेखेर यो सम्झौता अनुमोदन गर्नेछ समय दिनुप¥यो भन्नुभएको छ, उनले भने, ‘कूटनीतिमा यस्ता गतिविधिले राष्ट्रको स्वाभिमान झुक्ने काम भएको छ । प्रतिनिधिसभामा दर्ता गरिएको सम्झौता यस्तो र उस्तो गर्छौं भन्ने अधिकार उहाँहरूसँग हुन्छ ? यसमाथि छानबिन भएर कारबाही हुनुपर्छ । ’

प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको यस्तो हर्कतले कुटनीति नचल्ने उनको भनाई थियो । उनले देउवा र प्रचण्डलाई कस्ता कूटनीतिज्ञले यस्तो सुझाव दिएको हो भन्ने पनि उनले जिज्ञासा राखेका थिए । प्रतिनिधिसभामा विचाराधीन सम्झौता यस्तो र उस्तो गर्छौं भनेर पत्र लेख्ने अधिकार कुनै नेतामा नभएको उनको भनाइ थियो ।

एमसीसी उपाध्यक्ष फातिमा सुमारले एमसीसी सम्झौता नहुँदैमा अमेरिका र नेपालबीचको सम्बन्धमा कुनै असर नपर्ने बताउँदै आइरहेकी छन् । ‘हाम्रा कूटनीतिज्ञले सम्बन्ध बिग्रिन्छ भन्दैछन् । कूटनीति बुझेको हो कि फूटनीतिमात्रै बुझेको हो !,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement