काठमाण्डु – नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा. भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यका सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनुपर्ने माग गरेका छन् ।
सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा सम्बोधन गर्दा महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएपछि नेता रावलले सामाजिक सञ्जालमा लेखेर कारवाहीको माग गरे ।
गृहमन्त्रीको अभिव्यक्तिमा केन्द्रित भएर नेता रावलले गगनलाई कारबाही नगर्ने हो भने गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिने बताए ।
उनले देशको सूचना बेचेको आरोप लागेका गगनलाई गिरफ्तार गरेर कारबाही प्रक्रिया अगाडि नबढाएको खण्डमा प्रधानमन्त्री लामिछानेलाई बर्खास्त गर्नुपर्ने बताए ।
रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राज्यका सूचना बेच्नु देशद्रोह हो । यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन् । यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसद्मा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कारवाही गरियोस् । यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउँदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रम प्रचण्डले तुरुन्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ । गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनी विभिन्न मुद्दाबारे समेत संसद्मा प्रस्तुत गरेका छन् । ती मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गरियोस् । यस्ता आरोप झूटा ठहरे देशको गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेकोमा निजलाई कानूनी कारवाही होस् । राज्य कानून र मर्यादामा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनताप्रति गद्दारी गरेको ठहर्छ ।’




प्रतिक्रिया