भारतको पत्र उत्तेजक र षड्यन्त्रकारी छ, सरकारले गम्भीरतापूर्वक लिनुपर्छः भीम रावल

भारतको पत्र उत्तेजक र षड्यन्त्रकारी छ, सरकारले गम्भीरतापूर्वक लिनुपर्छः भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले भारतले नेपाली भूभागमा प्रवेश नगर्न दिएको निर्देशनको विरोध गरेका छन् ।

सोमबार भारतले नेपालको कालापानी भूभागमा नेपालीलाई नै प्रवेशमा रोक लगाएको विषयमा नेता रावलले आपत्ति जनाएका हुन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता रावलले भारतले दार्चुलाका सिडिओलाई पठाएको पत्र ‘उत्तेजक र षड्यन्त्रकारी’ भएकाले सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

‘नेपालको दार्चुला जिल्ला प्रशासनलाई भारतको स्थानीय जिल्ला प्रशासनको पत्र उत्तेजक र षड्यन्त्रकारी छ । नेपाल सरकारले यसलाई गम्भीरतापूर्वक लिनु पर्छ’, उनले भनेका छन् ।

त्यस्तै नेता रावलले सीमा समस्या समाधान गर्नै अधिकार केन्द्र सरकारलाई भएको भन्दै भारतका स्थानीय अधिकारीले उक्त पत्र किन लेखे ? भन्दै प्रश्न गरेका छन् ।

‘केन्द्र सरकारको सीमा समस्या सुल्झाउने अधिकार छ । किन भारतीय स्थानीय अधिकारीले त्यो चिठी लेखे ?’, उनको प्रश्न छ ।

भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न आग्रह गर्दै पत्र पठाएको हो ।

जिप्रका दार्चुलालाई पत्र लेख्दै भारतको धार्चुला प्रशासनले भनेको छ, ‘बिभिन्न नेपाली गुटरसमूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस् । अतः यस प्रकारका कुनै सूचना तपाईहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला ।’

नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ । नेपाल सरकारले हालै कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि गतिविधि बढेको छ । हालै त्यहाँ नजिक सडकको ट्र्याक खोल्ने काम भइरहेको छ ।