धनगढी – नेकपाको प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले किर्ते गरेको आरोप लगाएका छन् ।
धनगढीमा शनिबार आयोजित बृहत विरोध सभामा बोल्दै नेता रावलले केपी ओली आफैले हस्ताक्षर गरेको संविधानलाई कुल्चेर जनताको अधिकारलाई कमजोर पारी किर्ते गरेको आरोप लगाए । उनले केपी ओलीको कर्तुतविरुद्ध सुदूरपश्चिम प्रदेशलाई जुरुक्क उठाएको समेत बताएका छन् ।
‘बालुवाटारमा बस्ने केपी ओली केटोले सुन्नुहोस्, सुदूरपश्चिममा जन्मेको म त्यही केटोले प्रदेशलाई तपाईंको कर्तुतका विरुद्धमा जुरुक्क उठाएको छु,’ उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक प्रधानमन्त्रीले फिर्ता ल्याउनुहुनेछ, समाजवाद उन्मुख अर्थतन्त्रको सुरुवात हुने ठानेका थियौं तर पाँच वर्षका लागि जनताले जनमत दिएकोमा त्यसको ओलीले अपमान गर्नुभएको छ, प्रतिनिधिसभाको विघटनको विरुद्धमा यो आवाज घन्केको छ ।’
नेकपालाई बिसर्जन गरी ओलीले पार्टीप्रति विश्वासघात गर्न १५०१ को केन्द्रीय कमिटी बनाएको भए पनि निर्वाचन आयोगले खारेज गरिदिएको उनको भनाइ थियो । साथै उनले मुलुकमा भइरहेको भ्रष्टाचारको अगुवा केपी ओली नै भएको आरोप लगाए ।
‘सत्तरी करोड, ओम्नी प्रकरण, यति, वाइड बडी सबैतिर भ्रष्टाचार । भ्रष्टाचार गर्नेलाई उहाँले संरक्षण गर्नुभयो । यी सबै भ्रष्टाचारको अगुवा केपी ओली नै हो,’ रावलले भने, ‘सत्तरी करोडको भ्रष्टाचारको कुरा आएपछि उहाँले भन्नुभयो सबै नेता एकातिर सत्तरी करोडवाला एकातिर । किनकि ७० करोड गरुङ्गो थियो ।’
नेता रावलले प्रधानमन्त्री ओलीले विदेशीका लागि नागरिकता दिलाउन खोज्दा र संयुक्त सैनिक अभ्यास गराउन खोज्दा पनि आफूहरुले रोकेको दाबी गरे । ‘अहिले विदेशी कम्पनी हुलेर नेपाली किसानविरुद्ध षड्यन्त्र गर्नुभएको छ । उहाँले गणतन्त्रमाथि प्रहार गर्नुभयो। अब किसान जनतालाई पेशाबिहीन बनाउँदै हुनुहुन्छ,’ रावलले भने ।




प्रतिक्रिया